
टोकियो — अमेरिका र इरानबीच युद्धविरामलाई स्थायित्व दिन वार्ता भइरहँदा इजरायल भने मध्यपूर्वमा लामो र जटिल संघर्षको तयारीस्वरूप छिमेकी क्षेत्रहरूमा आफ्नो नियन्त्रण विस्तार गर्दै गएको देखिएको छ ।
इजरायलले गाजा, सिरिया र अहिले लेबनानमा “बफर जोन” निर्माण गर्ने रणनीति अपनाएको छ । अक्टोबर ७, २०२३ का आक्रमणपछि आएको यो रणनीतिक परिवर्तनले देशलाई अर्ध-स्थायी युद्धको अवस्थामा राख्ने संकेत गरेको छ, जसबारे इजरायली सेना तथा रक्षा अधिकारीहरूले बताएका छन् । ती अधिकारीहरूका अनुसार, करिब दुई वर्षभन्दा बढी चलेको संघर्षपछि एउटा यथार्थ स्पष्ट भएको छ—इरानको धार्मिक नेतृत्व, लेबनानस्थित हेज्बोल्लाह, गाजास्थित हमास तथा अन्य क्षेत्रीय मिलिसियाहरूलाई पूर्ण रूपमा समाप्त गर्न सम्भव छैन।
कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पीसका विश्लेषक नाथन ब्राउनले भने, “इजरायलका नेताहरूले अब आफूहरू यस्तो युद्धमा छन् भन्ने निष्कर्ष निकालेका छन्, जहाँ विपक्षीलाई पूर्ण रूपमा नष्ट गर्न होइन, डर देखाएर नियन्त्रणमा राख्नुपर्छ।” अमेरिका र इरानबीच बुधबार व्यापक युद्ध अन्त्यका लागि वार्ता चलिरहँदा अस्थायी युद्धविराममा सहमति भएको छ। फेब्रुअरी २८ मा सुरु भएको युद्धका क्रममा इजरायलले इरानमाथिको आक्रमण रोक्न सहमति जनाएको भए पनि इरान समर्थित हेज्बोल्लाहविरुद्धको कारबाही जारी राख्ने जनाएको छ ।
मार्च २ मा हेज्बोल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले दक्षिण लेबनानमा स्थल आक्रमण सुरु गर्दै लिटानी नदीसम्मको क्षेत्रलाई “बफर जोन” बनाउने प्रयास गरेको छ । यो क्षेत्र लेबनानको करिब ८ प्रतिशत भूभाग ओगट्छ ।इजरायलले सो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसलाई विस्थापित हुन आदेश दिएको छ र हेज्बोल्लाहले प्रयोग गरेको आशंकामा गाउँघरहरू ध्वस्त पार्ने कार्य प्रारम्भ गरेको छ । एक उच्च सैन्य अधिकारीका अनुसार, सीमाभन्दा ५–१० किलोमिटर भित्रसम्मको क्षेत्र खाली गराउने उद्देश्य राखिएको छ, जसले इजरायली सिमाना नजिकका सहरहरूलाई रकेट आक्रमणबाट टाढा राख्नेछ ।
केही गाउँहरूमा करिब ९० प्रतिशत घरहरूमा हतियार वा हेज्बोल्लाहसँग सम्बन्धित सामग्री भेटिएको दाबी गरिएको छ, जसका कारण ती घरहरूलाई सैन्य लक्ष्य मानेर ध्वस्त पार्ने नीति अपनाइएको छ । पूर्व ब्रिगेडियर जनरल असाफ ओरियनका अनुसार, “अब इजरायल आक्रमण पर्खँदैन, सम्भावित खतरा देख्नेबित्तिकै पहिले नै कारबाही गर्छ ।” हेज्बोल्लाहविरुद्धको बफर जोन सुरक्षित भएपछि इजरायलले लेबनान, सिरिया, वेस्ट बैंक र गाजाका केही भूभागमा आफ्नो नियन्त्रण विस्तार गरिसकेको हुनेछ। गाजामा अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले आधाभन्दा बढी क्षेत्र नियन्त्रणमा राखेको छ।
युद्धविराम सम्झौताअनुसार इजरायलले गाजाबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने भए पनि त्यसको सम्भावना तत्कालका लागि न्यून देखिन्छ। मार्च ३१ मा जारी भिडियो सन्देशमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, “हामीले आफ्ना सीमाभन्दा बाहिर गहिरो सुरक्षा क्षेत्रहरू स्थापना गरिसकेका छौँ ।” इजरायलले सन् १९६७ को युद्धपछि कब्जा गरेका वेस्ट बैंक, गाजा र सिरियाको गोलान हाइट्समा पनि लामो समयदेखि नियन्त्रण राख्दै आएको छ। तर, विस्थापित लेबनानी र प्यालेस्टिनी समुदायका लागि यी कदमहरू थप भू-क्षेत्र विस्तारको संकेतका रूपमा देखिएका छन्।
केही अतिदक्षिणपन्थी नेताहरूले इजरायलको सीमा लिटानी नदीसम्म विस्तार गर्नुपर्ने धारणा राखेका छन् । यद्यपि, केही सैन्य अधिकारीहरूले बफर जोन स्थायी सीमा नहुने र आवश्यक परे मात्रै सैनिक कारबाही गरिने बताएका छन् ।इजरायलका रक्षा मन्त्री इजरायल काट्जले गाजामा अपनाइएको “पूर्ण विनाश” रणनीति जस्तै लेबनानका सीमा नजिकका गाउँहरू ध्वस्त पार्ने बताएका छन् । अन्तर्राष्ट्रिय कानुन विज्ञ एरान शमीर-बोररका अनुसार, सैन्य प्रयोजनमा प्रयोग नभएको नागरिक सम्पत्ति ध्वस्त पार्नु गैरकानुनी हुन्छ ।
इजरायलभित्र पनि दीर्घकालीन शान्ति सम्झौताप्रति अविश्वास बढ्दै गएको छ । एक सर्वेक्षणअनुसार केवल २१ प्रतिशत इजरायलीहरूले भविष्यमा प्यालेस्टाइनसँग शान्तिपूर्ण सहअस्तित्व सम्भव ठान्छन् । विश्लेषक ओफेर शेलाहका अनुसार, लेबनानसँग शान्ति सम्झौता नभएसम्म उत्तरी क्षेत्रमा बफर जोन आवश्यक हुन सक्छ, तर यसले दीर्घकालमा सेनामाथि ठूलो दबाब सिर्जना गर्नेछ । ***








