टोकियो – प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो मातृभाषा र मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यका साथ तयार पारिएको नेपालभाषाको नयाँ गीत ‘चुलुबुलु चञ्चल…’ सार्वजनिक भएको छ । जापानी मूलकी चेली कारेन शाक्यको स्वर तथा अभिनय रहेको गीतले विशेष गरी विदेशमा हुर्किरहेका नेपाली बालबालिकाहरूलाई आफ्नो जरा र पहिचान नबिर्सन सकारात्मक सन्देश दिएको छ ।
वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठका शब्द र चर्चित संगीतकार तथा गायक न्ह्यु बज्राचार्यको संगीत एवं परिकल्पनामा तयार भएको गीतमा मौलिकता र आधुनिकताको सुन्दर संयोजन देख्न सकिन्छ । बज्राचार्यले गीतको डिजाइन र कन्सेप्ट तयार पारेका हुन् भने प्रज्वल लामाले संगीत संयोजन गरेका छन् ।
गीतको छायाङ्कनका लागि कारेन जापानबाट ११ दिनको छुट्टी मिलाएर नेपाल आएकी थिइन् । छोटो समयको बसाइमा पनि उनले ३ दिनको भोकल ट्रेनिङ र रेकर्डिङ तथा ३ दिनको नृत्य प्रशिक्षण र छायाङ्कन गरी जम्मा ६ दिनमा यो कठिन कार्य सम्पन्न गरेकी हुन् । ‘सेवा अभियान’का अभियन्ता एवं निर्माता सुनिल कुमार शाक्यले आफ्नी छोरीलाई नेपाली कला र भाषाप्रति आकर्षित गराउन यो दोस्रो प्रयास गरेका हुन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रमा छायाङ्कन गरिएको यस भिडियोले नेपालको ऐतिहासिक वास्तुकला र सांस्कृतिक वैभवलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । भिडियोमा कारेनसँगै जापानबाटै आएका अन्य दुई कलाकार मिका कानेयुकी र युकाको यामामोटोले पनि अभिनय गरेका छन् । नेपाली संस्कृति झल्कने पहिरनमा जापानी कलाकारहरूको अभिनयले भिडियोलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ ।
ज्योती म्यूजिकको ब्यानरमा निर्माण भएको यस भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेका हुन् । गायिका निशा देशारले भोकल इन्स्ट्रक्टरका रूपमा कारेनलाई प्रशिक्षण दिएकी थिइन् भने नेपा डान्स एकेडेमीकी रोहिया महर्जनले नृत्य निर्देशन गरेकी थिइन् । सोहन मानन्धरको छायाङ्कन र बिजन राज बज्राचार्यको सम्पादन रहेको यस भिडियोमा बाल कलाकारहरू बेबिका श्रेष्ठ र बिप्सना राजवाहकको पनि अभिनय देख्न सकिन्छ ।








