Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपाली लोक तथा दोहोरी गीत-संगीतको क्षेत्रमा एक स्थापित नाम हो- रामकृष्ण बम मल्ल । झण्डै तीन दशकदेखि संगीत साधनालाई निरन्तरता दिँदै आउनुभएका मल्लको नयाँ सांगीतिक कोसेली ‘तिम्रै चिनो’ सार्वजनिक भएको हो । 

प्रवासलाई कर्मभूमि बनाएर पनि नेपाली कला र संस्कृतिको उत्थानमा अहोरात्र खटिएका मल्लको यस नवीन सिर्जनाले बजारमा निकै सकारात्मक चर्चा बटुल्न थालेको छ । ‘पिरो क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको त्रिवेणी आवाज सुन्न सकिन्छ । गीतमा शब्द सङ्कलन बसन्त थापाले गर्नुभएको हो भने संगीत स्वयम् रामकृष्ण बम मल्लले भर्नुभएको छ ।

माया, प्रेम र मानवीय संवेगलाई मुख्य विषयवस्तु बनाइएको यस गीतमा विशेषगरी स्मृति र सम्झनाका तरेलीहरूलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। कुनै पनि सम्बन्धमा बाँकी रहने ‘चिनो’ र त्यसले दिने भावनात्मक गहिराइलाई संगीतको माध्यमबाट व्यक्त गरिएको छ ।

गीतको भिडियोलाई वरिष्ठ भिडियो निर्देशक शिव बी.के. ले निर्देशन गर्नुभएको हो । भिडियोमा कलाकारहरूको जीवन्त अभिनय, मौलिक परिवेश र आकर्षक छायांकनले गीतको भावलाई अझ प्रष्ट पारेको छ । नेपाली ग्रामीण परिवेश र मौलिक पहिरनलाई भिडियोमा कलात्मक ढंगले समेटिएको छ, जसले दर्शकलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ ।

बागलुङमा जन्मिएर हाल जापानलाई आफ्नो कर्मभूमि बनाउनुभएका रामकृष्ण बम मल्लको जीवन यात्रा आफैमा प्रेरणादायी छ । सुरुवाती चरणमा कामदारका रूपमा जापान प्रवेश गर्नुभएका मल्ल आज त्यहाँका एक सफल व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । व्यवसायसँगै उहाँले नेपाली संगीतप्रतिको आफ्नो मोहलाई कहिल्यै मर्न दिनुभएन ।

हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सचिवको जिम्मेवारीमा रहनुभएका मल्ल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले विभिन्न सामाजिक संघ-संस्था मार्फत प्रवासमा रहेका नेपालीहरूलाई जोड्ने र नेपाली कलाको प्रवर्द्धन गर्ने काम गर्दै आउनुभएको छ ।

पछिल्लो समय नेपाली सांगीतिक बजारमा छोटो समयमै हराएर जाने गीतहरूको भीडमा ‘तिम्रै चिनो’ ले एक परिपक्व र मौलिक सिर्जनाको आभास दिएको छ । 

तपाईको प्रतिक्रिया