टोकियो – जापानमा सन् २०२५ मा अनलाइन बैंकिङ ठगी र साइबर आक्रमणका घटनाले नयाँ रेकर्ड कायम गरेका छन् । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत वर्ष अनलाइन बैंकिङमार्फत १०.४ अर्ब येन (करिब ६ करोड ५० लाख डलर) बराबरको रकम चोरी भएको छ ।
यो रकम अघिल्लो वर्षको तुलनामा १.७ अर्ब येनले बढी हो। तथ्याङ्कअनुसार कुल ठगीमध्ये ५५ प्रतिशत सर्वसाधारण र ४५ प्रतिशत व्यावसायिक कम्पनीहरू सिकार भएका छन् । विशेषगरी कम्पनीहरूमा हुने ठगीमा अघिल्लो वर्षको तुलनामा चार गुणाले वृद्धि भई ४.७ अर्ब येन पुगेको छ ।
प्रहरीका अनुसार ९० प्रतिशत ठगी ‘फिसिङ’ (नक्कली लिङ्क वा वेबसाइट) मार्फत हुने गरेको छ । गत वर्ष २४ लाखभन्दा बढी फिसिङका घटना र १० लाखभन्दा बढी नक्कली वेबसाइटहरू फेला परेका थिए ।
यसैगरी, कम्प्युटर प्रणाली कब्जामा लिएर फिरौती माग्ने ‘र्यान्समवेयर’ (Ransomware) आक्रमणका घटना पनि बढेर २२६ पुगेका छन् । यसबाट सबैभन्दा बढी उत्पादनमूलक क्षेत्र र साना तथा मझौला उद्योगहरू प्रभावित भएका छन् । ‘किलिन’ नामक ह्याकर समूह यस्ता आक्रमणमा सबैभन्दा बढी सक्रिय देखिएको छ, जसले असही ग्रुप जस्ता ठूला कम्पनीको डाटासमेत चोरी गरेको थियो ।
आक्रमणमा परेकामध्ये आधाभन्दा बढी कम्पनीले आफ्नो प्रणाली पुनःस्थापना गर्न १ करोड येनभन्दा बढी खर्च गर्नुपरेको र धेरैजसोको ब्याकअप डाटासमेत ह्याकरहरूले नष्ट गरिदिएको रिपोर्टमा उल्लेख छ । ह्याकरहरूले मुख्यतया भीपीएनको कमजोरी प्रयोग गरी नेटवर्कमा प्रवेश गर्ने गरेको पाइएको छ ।








