काठमाडौं – ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने मूल नाराका साथ एनपीओ गल्कोट समाज जापानले बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
समाजले दुवै स्थानीय तहका १९ वटा विद्यालयमा ५/५ लाख रुपैयाँका दरले कुल ९५ लाख रुपैयाँ बराबरको अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्य सम्पन्न गरेको हो । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित ‘साङ्गीतिक धमाका २०२५-०२६’ बाट सङ्कलित रकमको उद्देश्य अनुरूप यी विद्यालयहरूमा अक्षयकोष स्थापना गरिएको समाजले जनाएको छ ।
अक्षयकोष स्थापनाको पहिलो चरण अन्तर्गत गत वर्ष गल्कोट नगरपालिकाका १० र ताराखोला गाउँपालिकाको १ गरी ११ विद्यालयमा कोष स्थापना गरिएको थियो । जसमा गल्कोट नगरपालिका वडा नं. १ को सरस्वती मावि, वडा नं. २ को महेन्द्र मावि, वडा नं. ४ को खरुवा मावि, वडा नं. ५ को पृथ्वी मावि, वडा नं. ६ को पार्वती मावि, वडा नं. ७ को जनहित मावि, वडा नं. ८ को जनजागृति मावि, वडा नं. ९ को भैरव मावि, वडा नं. १० को पाण्डवखानी मावि र वडा नं. ११ को रत्न लक्ष्मी मावि रहेका छन् । त्यस्तै, ताराखोला गाउँपालिकाको नेपाल माविमा पनि सोही समयमा कोष स्थापना गरिएको थियो ।
दोस्रो चरण अन्तर्गत यस वर्ष बाँकी रहेका विद्यालयहरूमा कोष स्थापना कार्य सम्पन्न गरिएको छ । जसमा गल्कोट नगरपालिका वडा नं. १ को चौराहा मावि, वडा नं. ३ को गल्कोट मावि र वडा नं. ८ को शिव मावि रहेका छन् । त्यस्तै, ताराखोला गाउँपालिका वडा नं. १ को प्रजातन्त्र मावि र जनप्रेम मावि, वडा नं. २ को अर्गल मावि, वडा नं. ३ को हरि मावि र वडा नं. ५ को दुर्गा भवानी माविमा अक्षयकोष स्थापना गरिएको छ ।
यो अक्षयकोषले भविष्यमा गल्कोट र ताराखोला क्षेत्रका आर्थिक रूपमा विपन्न तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक वृत्तिविकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गल्कोट समाज जापानले लिएको छ । यस परोपकारी कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरू, व्यवस्थापनमा सहजीकरण गर्ने गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, विद्यालय परिवार, स्थानीय सङ्घ-संस्था, समाजसेवी तथा सञ्चारकर्मीहरूप्रति समाजले कृतज्ञता प्रकट गरेको छ ।
अक्षयकोष हस्तान्तरण कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेत र महासचिव दिलीप कँडेलको उपस्थिति रहेको थियो । सो अवसरमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताएका छन् । अभियानलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे । साङ्गीतिक कार्यक्रममार्फत सङ्कलित रकमलाई सही सदुपयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न पाउनु गौरवको विषय भएको महासचिव कँडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया








