समाचार सुन्नुहोस :
काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आह्वान गरेका छन्।
निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्। भण्डारीले यो निर्वाचनले नेपालको संविधान तथा संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने विश्वास गरेका छन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए।
उनले मतदान नागरिकको अधिकार मात्र नभएर जिम्मेवारी पनि भएको उल्लेख गरे। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई सबैभन्दा महत्वपूर्ण प्रक्रिया मानिने भन्दै उनले मतदातालाई आफ्नो मतदान केन्द्रमा पुगेर सुसूचित रूपमा मतदान गर्न आग्रह गरेका छन्। निर्वाचन व्यवस्थापनका क्रममा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारमाध्यमबाट प्राप्त सहयोगले आयोगलाई काम गर्न थप हौसला मिलेको पनि उनले बताए।








