समाचार सुन्नुहोस :
काठमाडौँ – म्याग्दीको बेनीमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताहरु गाउँ फर्किन थालेपछि बजार सुनसान बन्न थालेको छ। विभिन्न पेशा, व्यवसाय, रोजगारी र अध्ययनका लागि बेनीमा बसोबास गर्दै आएका नागरिकहरू मतदान गर्न गाउँ फर्किँदा बजारको चहलपहल घटेको हो।
हिजोसम्म बजारमा देखिएको भिडभाड बुधबार बिहानदेखि कम हुन थालेको छ। विद्यालय, सरकारी कार्यालय र संघसंस्थाका कार्यालयहरू आजदेखि बन्द छन्। साथै पसल, होटल र अन्य व्यवसायिक स्थलहरू पनि बन्द हुन थालेका छन्।
गाउँ फर्केका मतदाताले मतदानको तयारी थालेपछि सुनसान रहेका गाउँमा अहिले गतिविधि बढेको छ। बेनीसहित देशका विभिन्न सहरमा बस्ने मतदाताहरू पनि मतदानका लागि आफ्ना गाउँ फर्किएका छन्। निर्वाचनमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थितिले पनि गाउँमा हलचल बढाएको बताइएको छ।








