टोकियो – विश्वमै नागरिक इमानदारीका लागि चिनिने जापानमा हराएको नगद प्रहरीलाई बुझाउने क्रममा नयाँ कीर्तिमान कायम भएको छ । सन् २०२५ मा टोकियोका नागरिकले सडक तथा सार्वजनिक स्थलमा भेटाएर कुल ४ अर्ब ५० करोड जापानी येन नगद प्रहरीलाई बुझाएका हुन् ।
टोकियो महानगरीय प्रहरीका अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बढी हो । फेला परेकामध्ये ७० प्रतिशतभन्दा बढी रकम सार्वजनिक स्थल र सुपरमार्केटका ‘सेल्फ चेकआउट’ मेसिनहरूमा मानिसहरूले झुक्किएर छाडेका थिए । एकै व्यक्तिले २ करोड ७० लाख येनसम्मको ठूलो रकम फेला पारेर प्रहरीलाई बुझाएको तथ्यांक छ ।
प्रहरीकहाँ आइपुगेको कुल रकममध्ये ३ अर्ब २३ करोड येन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने ५९ करोड येन फेला पार्ने व्यक्ति (हकदाबी अनुसार) लाई दिइएको छ । कसैको दाबी नपरेको बाँकी ६८ करोड येन भने महानगर सरकारको राजस्वमा जम्मा भएको छ ।
नगदका साथै गत वर्ष ४५ लाख थान अन्य सामान पनि प्रहरीको ‘लस्ट एन्ड फाउन्ड’ केन्द्रमा दर्ता भएका छन् । जसमा सवारी चालक अनुमति पत्र, परिचयपत्र र वायरलेस इयरफोन जस्ता विद्युतीय उपकरणहरू बढी रहेका छन् । यो तथ्यांकले जापानको उच्च नागरिक नैतिकता र इमानदारीलाई पुनः पुष्टि गरेको छ ।








