टोकियो – जापानको शिजुओकामा आयोजित प्रतिष्ठित ‘सेभेन सामुराई गोल्ड कप २०२६’ फुटसल प्रतियोगिताको उपाधि मोना शिजुओकाले हात पारेको छ । आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टोली शिजुओका युनाइटेड ‘ए’लाई पराजित गर्दै मोना शिजुओकाले च्याम्पियनको ट्रफी उचालेको हो ।
उपाधिसँगै मोना शिजुओकाले नगद ४ लाख जापानी येन र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको शिजुओका युनाइटेड ‘ए’ ले नगद २ लाख येनसहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
अत्यन्तै उत्साहजनक र कडा प्रतिस्पर्धाका बीच खेलिएको फाइनल खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए । खेलको निर्धारित समयभर दुवै पक्षबाट गोलका लागि सुन्दर प्रयास र उत्कृष्ट बचाउहरू भए । यद्यपि, निर्णायक क्षणमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै मोना शिजुओकाले जित सुनिश्चित गर्यो । खेलको अन्तिम समयसम्म दर्शकहरूको हुटिङ र समर्थनले शिजुओकाको खेल मैदान गुञ्जायमान बनेको थियो ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरियो । आफ्नो टोलीका लागि संकटका समयमा महत्त्वपूर्ण बचाउ गर्दै टिमलाई फाइनलसम्म पुर्याउन भूमिका खेलेका राजु तामाङ प्रतियोगिताको ‘उत्कृष्ट गोलरक्षक’ घोषित भए। त्यस्तै, मैदानमा सन्तुलित र प्रभावकारी खेल प्रदर्शन गरेका अनिल मोक्तान ‘सर्वोत्कृष्ट खेलाडी’ र प्रतियोगिताभर सर्वाधिक गोल गर्ने अशोक नेपाली ‘सर्वाधिक गोलकर्ता’ को अवार्डबाट सम्मानित भए ।
आयोजक ‘शिजुओका युनाइटेड’ द्वारा सञ्चालित यस वर्षको गोल्ड कपमा जापानभरिबाट २५ टोलीहरूले सहभागिता जनाएका थिए । समूह चरणदेखि नै खेलहरू निकै प्रतिस्पर्धात्मक र रोचक बनेका थिए । धेरै खेलहरूको निर्णय अन्तिम मिनेटमा मात्र भएकाले पनि यस वर्षको प्रतियोगिता थप रोमाञ्चक बनेको थियो ।
प्रतियोगिताको सफलतापूर्वक समापनपछि आयोजक टोलीले सहभागिताका लागि सबै खेलाडी र खेलप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । आयोजकका अनुसार यस्ता खेलकुद गतिविधिले जापानमा रहेका नेपाली युवाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्ने मात्र नभई, नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
तपाईको प्रतिक्रिया








