काठमाडौं – नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकप क्रिकेटको ‘सुपर एट’ मा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले मुम्बईको वानखडे रंगशालामा १५.२ ओभरमै पूरा गरेको थियो ।
वेस्ट इन्डिजका ओपनर ब्याटर ब्रान्डन किंग २२ रन बनाई आउट भए । नन्दन यादवको बलमा कुशल भुर्तेलले मिडअनमा उनको क्याच लिएका थिए । किंग र कप्तान साई होपले ६ ओभरभित्र पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि होप र हेटमायरले ४१ बलमा अर्धशतकीय साझेदारी पूरा गरेका थिए, जसमा हेटमायरको योगदान ३७ रनको थियो । त्यसपछि भने होप आक्रामक बनेका थिए ।
वेस्ट इन्डिजले लगातार तेस्रो खेल जित्दै अर्को चरणमा स्थान पक्का गरेको हो । नेपालले भने लगातार तेस्रो खेलमा पराजय भोगेको हो । नेपालले मंगलबार स्कटल्यान्डसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको ५८ रन बनाएपछि मात्र नेपालले हेर्नलायक स्कोर बनाएको हो । नेपाली खेलाडीको ट्वान्टी–२० विश्वकपमा यो केवल दोस्रो अर्धशतक हो र उच्च स्कोर पनि हो ।सुवास खकुरेलले २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध यसअघि ५६ रन बनाएका थिए ।








