समाचार सुन्नुहोस :
काठमाडौँ – बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा फेरि जेल पुगेका छन्। दिल्ली उच्च अदालतको आदेशपछि उनले तिहाड जेलमा आत्मसमर्पण गरेका हुन्। अदालतले जमानत दिन अस्वीकार गर्दै उनले पटक–पटक अवसर पाउँदा पनि ऋण नतिरेको टिप्पणी गरेको छ।
सन् २०१० मा फिल्म अता पता लापता निर्माणका लागि उनले मुरली प्रोजेक्ट्सबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म असफल भएपछि ऋण तिर्न नसक्दा समस्या बढ्दै गएको हो। अदालतका अनुसार उनलाई २५ भन्दा बढी पटक रकम बुझाउने मौका दिइएको थियो। उनका वकिलले अधिकांश रकम तिरिसकेको दाबी गरे पनि सुनुवाइ सोमबारसम्मका लागि स्थगित भएको छ।
यसबीच बलिउडका कलाकारहरू सहयोगका लागि अघि आएका छन्। सोनु सूदले नयाँ फिल्ममा अनुबन्ध गरी अग्रिम पारिश्रमिक दिने घोषणा गरेका छन्। साथै सलमान खानलगायत अन्य कलाकारहरूले पनि आर्थिक सहयोग गर्ने बताएका छन्।








