Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको राजधानी टोकियोसँगै जोडिएको चिबा प्रान्तको उरायासु सहरले दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाका लागि दिवा हेरचाह (डे-केयर) सेवा निःशुल्क गर्ने घोषणा गरेको छ । बालबालिका हुर्काउँदा अभिभावकहरूमा पर्न जाने आर्थिक भार कम गर्ने उद्देश्यले सहरले यस्तो कदम चालेको हो ।

आगामी अप्रिलदेखि कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको यो व्यवस्था चिबा प्रान्तका स्थानीय तहहरूमध्येकै पहिलो हुने उरायासु नगर प्रशासनले जनाएको छ । नगर अधिकारीहरूका अनुसार, यो कार्यक्रम सहरभित्र सञ्चालित ५५ वटा मान्यता प्राप्त डे-केयर सेन्टरहरूमा लागू हुनेछ । यसबाट ‘० देखि २ वर्ष’ उमेर समूहका करिब १,९०० बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो सुविधा प्राप्त गर्न परिवारको आयस्रोत वा बालबालिकाको संख्याको कुनै बन्देज रहने छैन अर्थात् सबैले समान रूपमा यो सुविधा पाउनेछन् । यद्यपि, ‘एक्स्टेन्डेड डे-केयर’ (थप समयको सेवा) र खाजाको वास्तविक खर्च भने अभिभावक स्वयंले बेहोर्नुपर्ने सहरले स्पष्ट पारेको छ । यस महत्वाकांक्षी योजनाका लागि सहरले आर्थिक वर्ष २०२६ को मस्यौदा बजेटमा ५८ करोड येन (करिब ३७.७ लाख अमेरिकी डलर) विनियोजन गरेको छ ।

जापान सरकारले सन् २०१९ मा नै ३ देखि ५ वर्षसम्मका बालबालिकाका लागि डे-केयर निःशुल्क गरिसकेको छ । अर्कोतर्फ, टोकियो महानगर सरकारले आर्थिक वर्ष २०२५ देखि नै ० देखि २ वर्षका बालबालिकाका लागि निःशुल्क कार्यक्रम सुरु गरिसकेको छ । छिमेकी टोकियोमा आकर्षक प्रशासनिक सेवाहरू उपलब्ध भएपछि उरायासुका बासिन्दाहरूले पनि आफ्नै सहरमा सोही सरहको सुविधा माग गर्दै आएका थिए ।

गत फेब्रुअरी ४ मा आयोजित पत्रकार सम्मेलनमा उरायासुका मेयर एत्सुशी उचिदाले भने, ‘छिमेकी टोकियोले दिने सेवा र हाम्रो सेवाबीचको अन्तरप्रति हामी सचेत हुनैपर्छ । तर, आधारभूत रूपमा भन्नुपर्दा नागरिकको न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने जिम्मेवारी केन्द्र सरकारले नै लिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

तपाईको प्रतिक्रिया