टोकियो – जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’का सह-अध्यक्षद्वय योशिहिको नोडा र तेत्सुओ साइतोले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै उनीहरूले सोमबार पदत्याग गर्ने निर्णय गरेका हुन् ।
राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै नेता नोडाले आगामी फेब्रुअरी १८ सम्ममा पार्टीको नयाँ नेतृत्व चयन गरिने जानकारी दि ए। वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीको अनुदारवादी (कन्जरभेटिभ) गठबन्धनलाई कडा चुनौती दिने उद्देश्यले गत जनवरीमा यो नयाँ मोर्चा गठन गरिएको थियो । जापानको तत्कालीन सबैभन्दा ठूलो विपक्षी शक्ति र पूर्व सत्ता साझेदार दलबीच एकता भएर बनेको यस गठबन्धनले निर्वाचनमा भने निकै कमजोर प्रदर्शन गरेको छ ।
निर्वाचनको नतिजाअनुसार गठबन्धनको सिट संख्यामा ठूलो गिरावट आएको छ । निर्वाचनअघि उक्त मोर्चासँग १६७ सिट रहेकोमा मतदानपछि त्यो घटेर जम्मा ४९ सिटमा खुम्चिएको छ ।
प्रधानमन्त्री ताकाइचीको शक्तिलाई सन्तुलनमा राख्ने लक्ष्यसहित बनेको नयाँ राजनीतिक शक्ति स्थापनाको छोटो समयमै रक्षात्मक अवस्थामा पुगेपछि नेतृत्वले राजीनामाको बाटो रोजेको हो । यो हारलाई जापानको राजनीतिमा विपक्षी दलहरूको भविष्य र रणनीतिमाथिको ठूलो धक्काका रूपमा हेरिएको छ ।








