टोकियो – जापानको यातायात मन्त्रालयले रेल सेवामा बारम्बार आएका अवरोधप्रति कडा आपत्ति जनाउँदै ‘इस्ट जापान रेलवे कम्पनी’ (जेआर इस्ट) लाई सचेत गराएको छ । मन्त्रालयले हालैका दिनमा विभिन्न मुख्य रेल लाइनहरूमा भएका सेवा अवरोधको ठोस कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न निर्देशन दिएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा यातायात मन्त्री कानेको यासुशीले रेल सेवामा देखिएको समस्याप्रति गम्भीर चासो व्यक्त गरेकाे छन् । विशेषगरी कार्यालय जाने-आउने व्यस्त समय (कम्युटिङ आवर) मा घण्टौंसम्म रेल सेवा ठप्प हुँदा लाखौं यात्रुले सास्ती भोग्नुपरेको भन्दै मन्त्री कानेकोले यसलाई ‘अत्यन्त खेदजनक’ बताए । ‘सार्वजनिक यातायात प्रदायकको रूपमा आफ्नो भूमिका र जिम्मेवारीप्रति कम्पनी सजग हुनुपर्छ,’ मन्त्री कानेकोले भने, ‘हामी कम्पनीबाट सुरक्षित र भरपर्दो सेवाको पूर्ण प्रत्याभूति चाहन्छौँ ।’
यसै सिलसिलामा मन्त्रालयले मंगलबार जेआर इस्टका कार्यकारी उपाध्यक्ष वतारी चिहारुलाई बोलाएर स्पष्टीकरण सोधेको छ । सुरक्षा मामिला हेर्ने जिम्मेवारी सम्हाल्नुभएका उपाध्यक्ष वतारीलाई मन्त्रालयले तत्काल सुधारका उपायहरू सहितको प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
मन्त्रालयसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष वतारीले सार्वजनिक रूपमा माफी मारे । ‘धेरै संख्यामा ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति म क्षमायाचना गर्दछु,’ उनले भने, ‘व्यस्त समयमा भएका यी अवरोधहरूलाई हामीले निकै गम्भीरताका साथ लिएका छौं । जनविश्वास पुनः कायम गर्न र समग्र सुरक्षा स्तर सुधार्न हामी निरन्तर प्रयास गर्नेछौं ।’
के भएका थिए घटना ?
-
जनवरी १६: विद्युत् आपूर्तिमा आएको अवरोधका कारण प्रसिद्ध ‘यामानोटे लाइन’ र ‘केहिन–तोहोकु लाइन’ को सेवा पहिलो प्रस्थानदेखि नै करिब ८ घण्टासम्म ठप्प भएको थियो।
-
जनवरी ३०: टोकियोको उएनो स्टेशनमा ओभरहेड केबल चुँडिदा ‘जोबान लाइन’ को सेवा झन्डै ७ घण्टा अवरुद्ध भएको थियो।
-
गत सोमबार: हाचोबोरी स्टेशनको एस्केलेटरबाट धुवाँ निस्किएपछि ‘केइयो लाइन’ को सेवा रोक्नुपरेको थियो।
यी शृङ्खलाबद्ध घटनाले जापानको भरपर्दो मानिने रेल नेटवर्कको व्यवस्थापनमाथि प्रश्न उठाएको छ, जसका कारण सरकारले कम्पनीलाई सुरक्षा प्रणालीमा व्यापक सुधार गर्न दबाब दिएको हो ।








