
ताइपेई – ताइवानले व्यापार तथा आर्थिक सहकार्यका लागि चीनतर्फ होइन, समान लोकतान्त्रिक मूल्य मान्ने राष्ट्रतर्फ ध्यान दिनुपर्ने राष्ट्रपति लाई चेङतेले बताएका छन् । मंगलबार उनले सरकार कृत्रिम बुद्धिमत्ता (एआई) र महत्वपूर्ण खनिजजस्ता क्षेत्रमा संयुक्त राज्य अमेरिकासँग सहकार्य कसरी अघि बढाउने भन्ने स्पष्ट खाका तयार गरिरहेको जनाएका छन् ।
गत साता ताइवान र अमेरिकी वरिष्ठ अधिकारीहरूले एआई, प्रविधि र ड्रोनसम्बन्धी सहकार्यबारे उच्चस्तरीय फोरममा छलफल गरेका थिए । उक्त फोरम पहिलो ट्रम्प प्रशासनका बेला सुरु गरिएको हो । यस क्रममा युस स्टेट डिपार्टमेन्टले ताइपेईलाई महत्वपूर्ण साझेदारका रूपमा प्रशंसा गरेको थियो ।
दुवै पक्षले आर्थिक सुरक्षासम्बन्धी सहकार्य तथा ‘प्याक्स सिलिका घोषणा’मा पनि सहमति जनाएका छन् । यो अमेरिकी नेतृत्वमा अघि बढाइएको पहल हो, जसको उद्देश्य बेइजिङसँगको तीव्र प्रतिस्पर्धाबीच एआई र सेमिकन्डक्टर आपूर्ति शृङ्खलालाई सुरक्षित बनाउनु हो । चीन वासिङ्टनको प्रमुख रणनीतिक प्रतिद्वन्द्वी हो र उसले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ ।
अमेरिका–ताइवान आर्थिक समृद्धि साझेदारी संवादबारे राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा लाईले ती वार्ताको नतिजाको प्रशंसा गरे ।
“ताइवान सही आर्थिक मार्गमा अघि बढिरहेको छ र विश्व मञ्चमा आत्मविश्वासका साथ पाइला चालिरहेको र लोकतान्त्रिक साझेदारहरूसँग मिलेर आगामी पुस्ताको समृद्धिको नेतृत्व गर्ने क्षमता एवम् आत्मविश्वास ताइवानसँग छ,” उनले भने ।
लाईको अभिव्यक्तिको समयमै ताइवानको प्रमुख विपक्षी दल केएमटीका उपाध्यक्ष सियाओ स्यु–त्सेन बेइजिङमा चीनको कम्युनिस्ट पार्टीसँग थिंक–ट्यांक आदानप्रदानका लागि पुगेका थिए । उक्त कार्यक्रम औपचारिक रूपमा एआई र पर्यटनजस्ता गैर–राजनीतिक विषयमा केन्द्रित बताइएको छ ।
राष्ट्रपति लाईले विपक्षी दलका “आ–आफ्नै धारणा” रहेको उल्लेख गर्दै, चीनसँग ऐतिहासिक व्यापार सम्झौता गरेको केएमटी सरकारको पालामा आर्थिक वृद्धि सुस्त भएको र सन् २०१६ मा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी सत्ता आएपछि वृद्धि तीव्र भएको भिन्नता औँल्याए ।
“हामी अमेरिका, जापान, युरोप र अन्य मित्र राष्ट्रहरूसँग सहकार्य जारी राख्न चाहन्छौँ कि फेरि चीनमै सीमित हुन चाहन्छौँ?” उनले प्रश्न गरे ।
लाईका भनाइमा केएमटीबाट तत्काल प्रतिक्रिया आएन । तर बेइजिङमा आयोजित फोरमको उद्घाटनमा सियाओले “शान्तिपूर्ण विकास” दुवै पक्षको हितमा हुने बताएका थिए । चीनले लाईसँग संवाद गर्न अस्वीकार गर्दै उनलाई “विभाजनकारी”को संज्ञा दिएको छ । तर लाईले ताइवानको भविष्यबारे निर्णय गर्ने अधिकार ताइवानका जनताकै हातमा रहने स्पष्ट पारेका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति लाईले समानता र पारस्परिक सम्मानको आधारमा बेइजिङसँग संवाद गर्न आफू तयार रहेको प्रस्ताव पुनः दोहोर्याए ।








