
टोकियो — आइतबार हुने आम निर्वाचनलाई लक्षित गर्दै जापानको सत्तारूढ गठबन्धनले ‘राष्ट्रिय शक्ति’लाई मुख्य एजेन्डा बनाएको छ भने विपक्षी दलहरूले जनताको दैनिकी र जीविकोपार्जनलाई प्राथमिकतामा राखेका छन् ।
लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ तथा प्रधानमन्त्री सानाए ताकाइचीले जापानलाई “बलियो र समृद्ध” बनाउने प्रतिबद्धतासहित जनसमर्थन मागिरहेकी छन् । उनले विश्वको चौथो ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्न उच्च सरकारी खर्च र लगानी आवश्यक रहेकोमा जोड दिएकी छन् ।
सुरक्षा मामिलामा कडा धारणा राख्ने ताकाइची चीन र उत्तर कोरियासँग बढ्दो तनावका बीच देशको रक्षा क्षमतालाई थप सुदृढ बनाउने लक्ष्यमा पनि छन् ।
एलडीपी नेतृत्वको सत्तारूढ गठबन्धनमा आफूलाई ‘गतिशिल शक्ति’ का रूपमा प्रस्तुत गर्ने जापान इनोभेसन पार्टी (जापान इसिन) ले तल्लो सदनको निर्वाचनका लागि “हामी इसिन, यसलाई गतिशिल बनाउँछौँ” भन्ने नारा अपनाएको छ । ओसाकामा बलियो आधार रहेको यस पार्टी, सुरक्षा तथा अन्य विवादास्पद नीतिमा रोक लगाउँदै आएको कोमेतो पार्टी अक्टोबरमा गठबन्धनबाट बाहिरिएपछि, एलडीपीसँग सहकार्य गरेको हो ।
नयाँ गठित ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ (कोमेटो र कन्स्टिट्युशनल डेमोक्रेटिक पार्टी अफ जापान) ले सत्तारूढ पक्षसँग भिन्नता देखाउँदै “साधारण नागरिकलाई पहिलो स्थान र उनीहरूको जीविकोपार्जनलाई केन्द्रमा” राख्ने प्रतिबद्धता जनाएको छ ।
विपक्षी डेमोक्रेटिक पार्टी फर द पिपुलले जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा लोकप्रियता दिलाएको मूल सन्देशलाई निरन्तरता दिँदै “हामी जनताको आम्दानी अझ वृद्धि गर्छाैँ” भन्ने वाचा दोहोर्याइरहेको छ ।
सप्ताहन्तमा क्योदो न्युजद्वारा गरिएको सर्वेक्षणमा मुद्रास्फीतिको चपेटामा परेका जापानी घरपरिवारका लागि बढ्दो मूल्य नियन्त्रणका उपायहरू मतदाताको प्रमुख प्राथमिकताका रूपमा देखिएका छन् ।
उक्त सर्वेक्षणले तल्लो सदनको निर्वाचनमा ४६५ सिटका लागि हुने प्रतिस्पर्धामा सत्तारूढ पक्षप्रति समर्थन बढ्दो देखाएको छ । सहभागि मध्ये ४२ प्रतिशतभन्दा बढीले सत्तारूढ गठबन्धनले थप सिट जितोस् भन्ने चाहना व्यक्त गरेका छन् ।
१२ दिने चुनावी अभियानमा जापान कम्युनिस्ट पार्टीले जनजीवन, शान्ति र मानव अधिकारको संरक्षणलाई प्राथमिकता दिएको छ त्यस्तै रेइवा शिनसेनगुमीको नारा “आफूलाई जोगाउनुभयो भने नै जापान जोगिन्छ” भन्ने रहेको छ ।
“म नै जापान हुँ” भन्ने नारासहित सान्सेइतो पार्टीले राष्ट्र निर्माणमा प्रत्येक व्यक्तिको महत्वलाई जोड दिइरहेको छ । गत वर्षको माथिल्लो सदन निर्वाचनमा ‘जापानी पहिलो’ नारासहित सफलता पाएको अतिदक्षिणपन्थी लोकवादी धाराले यसलाई अघि बढाइरहेको देखिन्छ ।
साना दलहरूमध्ये केहीले रक्षा, पुनर्जीवन र राष्ट्रिय स्वाधीनतामा ध्यान दिएका छन् भने केहीले बढ्दो रक्षा खर्चप्रति चिन्ता व्यक्त गर्दै विकास क्षेत्रहरूमा थप लगानीको माग गरेका छन् ।








