काठमाडौं – आसन्न आईसीसी टी-२० विश्वकपको अन्तिम तयारीमा जुटेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो आधिकारिक वार्म अप खेलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । भारतको चेन्नईस्थित प्रसिद्ध एमए चिदाबरम स्टेडियम (चेपौक) मा हुने यो खेल साँझ ५:१५ बजे सुरु हुने तालिका छ ।
विश्वकपको समूह चरणका खेलहरू सुरु हुनुअघि आफ्नो टोलीको शक्ति र कमजोरी आकलन गर्न नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ । नेपालले यसअघि नै भारत र श्रीलंकामा विभिन्न अभ्यास खेलहरू खेलिसकेको छ । मुम्बईमा भएको अभ्यास खेलमा नेपालले ‘एमसीए प्रेसिडेन्ट ११’ लाई दुवै खेलमा पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । यद्यपि, श्रीलंका ‘ए’ सँगको तीन खेलको शृंखलामा भने नेपालले केही संघर्ष गर्नुपरेको थियो, जहाँ टोलीले एक खेल मात्र आफ्नो पक्षमा पार्न सफल भयो ।
नेपाली टोलीका लागि चेन्नईको कन्डिसनमा हुने आजको खेलले खेलाडीहरूको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ । आजको खेलपछि नेपालले आगामी बिहीबार क्यानडासँग दोस्रो वार्म अप खेल खेल्ने कार्यक्रम रहेको छ ।
विश्वकपमा नेपालको तालिका
आगामी माघ २४ (फेब्रुअरी ७) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी-२० विश्वकपमा नेपालले बलिया राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको मुख्य प्रतियोगिताको यात्रा माघ २५ गते साविक विजेता इंग्ल्याण्डसँगको खेलबाट सुरु हुनेछ । त्यसपछि नेपालले माघ २९ मा इटाली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्याण्डको सामना गर्नेछ ।








