Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानमा ‘कन्भिनियन्स स्टोर’ (सजिलो पसल)का शौचालयहरूलाई सर्वसाधारणले दशकौँदेखि निःशुल्क र सहज सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्दै आएका छन् । तर, बाहिरी रूपमा जति सहज देखिए पनि यी शौचालयहरूको व्यवस्थापन सञ्चालकहरूका लागि भने ठूलो आर्थिक र श्रमको बोझ बन्दै गएको छ ।

प्रमुख स्टोर सञ्चालक ‘लसन’का अनुसार जापानभर रहेका उनीहरूका स्टोरमा दैनिक करिब १० लाख मानिसले शौचालय प्रयोग गर्छन् । यसका लागि वार्षिक १ करोड रोल ट्वाइलेट पेपर खपत हुने र दिनमा १० पटकसम्म सफाइ गर्नुपर्ने बाध्यता छ । सरसफाइ, पानी र बिजुलीको खर्च स्टोर आफैँले व्यहोर्नुपर्छ ।

एउटा सर्वेक्षणले ९० प्रतिशत जापानीले कन्भिनियन्स स्टोरका शौचालयलाई ‘अति आवश्यक’ ठानेको देखाए पनि शौचालय प्रयोग गर्नेमध्ये ४० प्रतिशतले पसलबाट केही पनि सामान खरिद गर्दैनन् । कतिपय अवस्थामा मदिरा सेवन गरेका व्यक्तिहरूले शौचालय फोहोर गर्ने र सामग्रीहरू तोडफोड गर्ने समस्याले सञ्चालकहरू चिन्तित छन् ।

यस समस्याको समाधानका लागि लसनले केही स्टोरमा ‘आर्ट ट्वाइलेट’ (कलात्मक शौचालय) को अवधारणा ल्याएको छ । भित्तामा कोरिएका आकर्षक चित्रहरूले प्रयोगकर्तालाई शौचालय सफा राख्न मनोवैज्ञानिक रूपमा प्रेरित गरेको पाइएको छ । केही स्टोरले पासवर्ड राखेर लक गर्ने प्रयास गरे पनि त्यो झन्झटिलो देखिएको छ ।

हाल योकोहामा र यामातो जस्ता स्थानीय सरकारहरूले यी स्टोरहरूलाई ‘सार्वजनिक शौचालय सहयोग केन्द्र’ का रूपमा मान्यता दिई वार्षिक केही अनुदान र ट्वाइलेट पेपर सहयोग गर्न थालेका छन् । विज्ञहरूका अनुसार, कन्भिनियन्स स्टोरले दिइरहेको यो सेवा व्यापार मात्र नभई ठूलो ‘सामाजिक योगदान’ हो, जसलाई राज्यले थप कदर र सहयोग गर्न आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया