-
८ लाखको पढाइ, १८ हजारको कमाइ : ५२ हजारभन्दा बढी नर्सले छाडे देश
काठमाडौं – नेपालमा नर्सिङ शिक्षा पूरा गरेपछि रोजगारीको सुनिश्चितता नहुनु र न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यताले नर्सिङ जनशक्ति विदेशिने क्रम भयावह बन्दै गएको छ ।
नेपाल नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार २०५९ सालदेखि हालसम्म ५२ हजार २ सय ५५ जना नर्सले मुलुक छाडिसकेका छन् । लाखौं रुपैयाँ खर्चेर अध्ययन पूरा गरे पनि नेपालमा श्रमको उचित मूल्य नपाउँदा र पेसागत सुरक्षा नदेख्दा दक्ष जनशक्ति पलायन हुन बाध्य भएको हो ।
काउन्सिलको तथ्यांकअनुसार नेपाली नर्सहरूको पहिलो रोजाइमा अमेरिका परेको छ । हालसम्म अमेरिकामा मात्रै २९ हजार ३ सय ८५ जना नेपाली नर्स कार्यरत छन् । यो संख्या बर्सेनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार नर्स अमेरिका पुगेकोमा २०८०/८१ मा यो संख्या बढेर ६ हजार पुगेको छ ।
अमेरिकापछि अस्ट्रेलिया, युएई, डेनमार्क, बेलायत र क्यानडा नेपाली नर्सका प्रमुख गन्तव्य बनेका छन् । तथ्यांकअनुसार अस्ट्रेलियामा १२ हजार ९ सय २४, युएईमा ४ हजार ४ सय ७४, डेनमार्कमा १ हजार ४ सय ११, बेलायतमा १ हजार २ सय ८२ र क्यानडामा ९ सय ७८ नेपाली नर्स छन् । काउन्सिलको रेकर्डमा नेपाली नर्सहरू विश्वका १७ भन्दा बढी मुलुकमा पुगेको देखिन्छ ।
किन बिदेसिँदै छन् नर्स ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार विश्व बजारमा नर्सको माग उच्च हुनु र त्यहाँको आम्दानी आकर्षक हुनुले विदेशिने क्रम बढेको हो । ‘सहज रूपमा विदेश जान सकिने, राम्रो आम्दानी र सुरक्षित भविष्य भएकाले यो पेसा अरूभन्दा आकर्षक बनेको देखिन्छ,’ अधिकारीले भने ।
यद्यपि, सरोकारवालाहरू भने नेपालभित्रैको निराशाजनक अवस्थालाई मुख्य कारण मान्छन् । नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलका अनुसार ८ देखि १० लाख रुपैयाँ लगानी गरेर पढेका नर्सले अन्त्यमा १५ देखि १८ हजार रुपैयाँ तलबमा काम गर्नुपर्ने बाध्यता छ । ‘पेसागत सुरक्षा नै छैन, लगानी अनुसारको प्रतिफल नभएपछि को देशमा बस्न चाहन्छ ?’ उनले प्रश्न गरिन् ।
नेपालमा निजी अस्पतालमा काम गर्ने मात्र होइन, स्थायी सरकारी जागिर खाइरहेका नर्सहरू समेत विदेशिइरहेका छन् । पोखरामा १८ हजार तलबमा ४ वर्ष काम गरेकी ममता बराल हुन् वा त्रिवि शिक्षण अस्पतालको स्थायी जागिर र ६० हजार तलब छाडेर अमेरिका पुगेकी चितवनकी कृति नापित; सबैको निष्कर्ष एउटै छ- ‘नेपालमा आर्थिक र पेसागत उन्नति सम्भव भएन ।’
अस्ट्रेलियामा कार्यरत बराल भन्छिन्, ‘नेपालमा घरखर्च धान्न पनि मुस्किल थियो, यहाँ कम्तीमा आर्थिक अभावमा पर्नुपरेको छैन ।’ त्यस्तै, अमेरिकाको ट्रमा सेन्टरमा कार्यरत नापित अत्याधुनिक प्रविधि, व्यवस्थित स्वास्थ्य प्रणाली र पेसागत सम्मानले आफूलाई विदेश तानेको बताउँछिन् ।
नेपालमा पर्याप्त अवसर नहुनु र विदेशमा ‘करिअर’ तथा कमाइ दुवै राम्रो हुने भएकाले दक्ष नर्सिङ जनशक्ति बाहिरिने क्रम तत्काल रोकिने संकेत देखिँदैन ।








