काठमाडौं – स्विट्जरल्यान्डको एक प्रसिद्ध स्की रिसोर्टमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीषण आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । दक्षिणी स्विट्जरल्यान्डको पर्यटकीय क्षेत्र क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ बारमा बिहीबार बिहान भएको यो आगलागीमा परी अन्य ११५ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे आगो फैलिएको थियो । नयाँ वर्ष २०२६ को स्वागतमा झुमिरहेका युवा र पर्यटकहरूको भिडले भरिएको बारमा अचानक आगो लाग्दा भागदौड मच्चिएको थियो ।
घटना लगत्तै भालिस क्षेत्रको प्रशासनले व्यापक उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई अस्पताल पुर्याउन १३ वटा हेलिकप्टर र ४२ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । उद्धार कार्यमा १५० भन्दा बढी आपतकालीन स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू खटिएका थिए । क्षेत्रीय गभर्नर माथियास रेनार्डका अनुसार ६० जना घाइतेलाई स्थानीय सियोन अस्पताल लगिएको छ भने गम्भीर रूपमा जलेका अन्य बिरामीहरूलाई लोजान र ज्युरिखका विशेषज्ञ ‘बर्न्स युनिट’ मा पठाइएको छ । केही घाइतेहरूको अवस्था अत्यन्तै नाजुक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
अग्नि नियन्त्रण विज्ञहरूले बारभित्र ‘फ्ल्यासओभर’का कारण आगो निकै द्रुत गतिमा फैलिएको बताएका छन् । तातो ग्यास र धुवाँले केही सेकेन्डमै पूरै कोठालाई ज्वालामा परिणत गरेको थियो । कतिपय युवाहरूको फोक्सोमा विषाक्त धुवाँ भरिएका कारण उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।
अटर्नी जनरल बियाट्रिस पिलुदले घटनाको गम्भीर अनुसन्धान भइरहेको बताएकी छन् । उनले यो कुनै आतंकवादी आक्रमण नभएको स्पष्ट पारेकी छन् । ‘बारका सिँढीहरू साँघुरा भएका कारण मानिसहरू बाहिर निस्कन नसकेको र उत्सवमा प्रयोग गरिएका ‘फ्लेयर’का कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ,’ पिलुदले पत्रकार सम्मेलनमा भनिन् ।








