Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बेइजिङ – पृथकतावाद र बाह्य हस्तक्षेपविरुद्ध कडा चेतावनी दिँदै चीनले ताइवान वरपर सुरु गरेको विशाल सैन्य अभ्यास मंगलबार दोस्रो दिन पनि जारी रह्यो । चिनियाँ सेनाको यस कदमले त्यस क्षेत्रको हवाई यातायातलाई नराम्ररी प्रभावित पारेको छ ।

ताइवान स्ट्रेटको जिम्मेवारी सम्हालेको चिनियाँ जनमुक्ति सेना (पीएलए) को ‘इस्टर्न थिएटर कमान्ड’ ले यो अभ्यासलाई ‘जस्टिस मिसन २०२५’ (न्याय मिसन २०२५) नाम दिएको छ । स्वशासित टापु ताइवानलाई घेरेर पाँच वटा विभिन्न क्षेत्रमा भइरहेको यो ‘लाइभ फायर’ (गोलाबारुद सहितको) अभ्यासका कारण सो क्षेत्रको जल र हवाई मार्ग प्रयोग नगर्न चेतावनी दिइएको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चिनियाँ सेनाको फुजियानस्थित लामो दूरीको फायर युनिटले ताइवानको उत्तरी क्षेत्रलाई निसाना बनाउँदै ‘लाइभ फायर’ अभ्यास गरेको थियो । यसका ‘इम्प्याक्ट जोन’ (गोला खस्ने क्षेत्र) ताइवानको २४-नटिकल माइल रेखा नजिकै छरिएका थिए । ताइवान स्ट्रेट पारि फुजियान प्रान्तको पिङ्टान काउन्टीबाट केही प्रोजेक्टाइलहरू प्रहार भएको छ । ताइवानका अधिकारीहरूले अनुमान गरे अनुसार, यस अभ्यासबाट टापुमा आउने र जाने गरी करिब १ लाखभन्दा बढी हवाई यात्रुहरू प्रभावित हुनेछन् ।

ताइवानको रक्षा मन्त्रालयले मंगलबार बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा ताइवान वरपर १३० चिनियाँ युद्ध विमान, १४ नौसैनिक जहाज र ८ सरकारी जहाज देखिएको जनाएको छ । जसमध्ये ९० वटा विमानले ताइवान स्ट्रेटको ‘मध्य रेखा’ पार गरी ताइवानको उत्तरी, मध्य, दक्षिण-पश्चिमी र पूर्वी हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । दशकौंसम्म दुवै पक्षले सम्मान गरेको यो अनौपचारिक सीमा रेखालाई चीनले पछिल्ला वर्षहरूमा बारम्बार बेवास्ता गर्दै आएको छ । ताइवानको सेनाले एकीकृत फायरपावर प्रणाली तैनाथ गर्दै स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

ताइवानका रक्षामन्त्री वेलिंग्टन कुले चिनियाँ सेनाको गतिविधिलाई अत्यन्त उत्तेजक र गैरजिम्मेवार भन्दै यसले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर असर पुर्‍याएको बताएका छन् । उनले यसले सिपिङ, व्यापार र उडान मार्गहरूमा गम्भीर सुरक्षा जोखिम निम्त्याएको बताए । ताइवानका राष्ट्रपति लाई चिङ-तेले फेसबुकमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘सैन्य दबाब बारम्बार बढाउनु एक जिम्मेवार महाशक्तिबाट अपेक्षा गरिने व्यवहार होइन ।’

उनले देशको सुरक्षाका लागि सेना र जनताबीच एकताको आह्वान गरेका छन् । यो सैन्य अभ्यास अमेरिकाले यसै महिनाको सुरुमा ताइवानलाई ११ अर्ब डलरभन्दा बढीको हतियार तथा उपकरण बिक्री गर्न अनुमति दिएलगत्तै सुरु भएको हो ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पत्रकारहरूसँग कुरा गर्दै आफू चिनियाँ अभ्यासका विषयमा चिन्तित नरहेको बताएका छन् । यसका साथै, जापानी प्रधानमन्त्री सानाय ताकाइचीले नोभेम्बरमा ताइवान आपतकालले जापानको सुरक्षा बललाई पनि सक्रिय गराउन सक्ने भनी दिएको अभिव्यक्तिले बेइजिङ र टोकियोबीच कूटनीतिक तनाव बढाएको छ, जसले विद्यमान तनाबलाई थप मलजल गरेको छ ।

चिनियाँ सेनाले भने यो अभ्यासलाई ‘चीनको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि वैध र आवश्यक कदम’ भन्दै औचित्य पुष्टि गरेको छ । सन् १९४९ को गृहयुद्धपछि अलग शासन व्यवस्था भए पनि कम्युनिष्ट नेतृत्वको चीनले ताइवानलाई आफ्नो विद्रोही प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेरै भए पनि गाभ्ने चेतावनी दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया