समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरू बिहीबार अपराह्न काठमाडौं आइपुगेका छन्। निष्कासित नेपालीहरू ओमनी इन्टरनेशनल एयरको चार्टर्ड विमानमार्फत काठमाडौं आएका हुन्। अमेरिकी सरकारले विशेष रूपमा विमान चार्टर्ड गरेर उनीहरूलाई नेपाल पठाएको जनाएको छ। अमेरिकी अध्यागमनले यी नेपालीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो।
वासिङटन डीसीस्थित दूतावास स्रोतका अनुसार गैरकानुनी रूपमा अमेरिका बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो। अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई फर्काउने प्रक्रिया निरन्तर जारी राखेको पनि दूतावासले जनाएको छ। अझै पनि केही नेपाली अमेरिकी अध्यागमनको हिरासतमा रहेको जानकारी दिइएको छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको आप्रवासन नीति कडा बनाइएको छ। ट्रम्प प्रशासनले नयाँ कार्यकारी आदेश जारी गरी गैरकानुनी आप्रवासीमाथि धरपकड र निष्कासनलाई तीव्र बनाउँदै आएको छ।








