टोकियो – जापानको स्वास्थ्य बीमा प्रणालीमा ऐतिहासिक परिवर्तन सुरु भएको छ । परम्परागत स्वास्थ्य बीमा कार्ड (Hokensho) जारी गर्न बन्द गरिएसँगै अब अस्पताल तथा क्लिनिकहरूमा ‘माई नम्बर कार्ड’ को प्रयोग अनिवार्य जस्तै बन्दै गएको छ । जापानमा बसोबास गर्ने नेपाली लगायत सम्पूर्ण विदेशी बासिन्दाहरूले यो नयाँ व्यवस्थाबारे जानकारी राख्नु अति आवश्यक छ ।
अस्पतालको प्रक्रियामा परिवर्तन
अहिले जापानी अस्पताल वा क्लिनिकको रिसेप्सनमा पुग्दा सुनिने पहिलो प्रश्न हो- ‘तपाईंको साथमा माई नम्बर कार्ड छ वा स्वास्थ्य बीमा कार्ड ?’ टोकियोको ओता वार्डस्थित एक अस्पतालमा सेप्टेम्बर महिनासम्ममा करिब आधा बिरामीले उपचारका लागि आफ्नो माई नम्बर कार्ड प्रयोग गर्न थालिसकेका थिए । एक बिरामीले अनुभव सुनाउँदै भने, ‘यो निकै सुविधाजनक छ, एउटै कार्डबाट सबै काम हुन्छ ।’
यद्यपि, यो संक्रमणकाल पूर्ण रूपमा सहज भने भइसकेको छैन । टोकियोको एदोगवा वार्डका एक दन्त चिकित्सकका अनुसार कर्मचारीहरूले बिरामीलाई कार्ड रिडर मेसिन कसरी प्रयोग गर्ने भनेर सिकाउनु पर्दा उपचार सेवामा ढिलाइ हुने चिन्ता व्यक्त गरेका छन् । साथै, जटिल कान्जी (जापानी लिपि) भएका नामहरू नयाँ प्रणालीमा दर्ता नहुँदा स्क्यान गर्दा नामको केही भाग नदेखिने प्राविधिक समस्या पनि देखिएको छ ।
कार्ड बनाउनेको संख्यामा वृद्धि
नयाँ प्रणाली लागू भएसँगै माई नम्बर कार्ड बनाउनेहरूको चाप बढेको छ । टोकियोको हाचिओजी शहरमा नोभेम्बर महिनामा मात्रै ६०८ जनाले नयाँ कार्ड बनाएका छन्, जुन अघिल्लो महिनाको तुलनामा २० प्रतिशतले बढी हो । कार्ड बन्न करिब एक महिना लाग्ने भएकाले सरकारी अधिकारीहरूले समयमै आवेदन दिन आग्रह गरेका छन् ।
के हो माई नम्बर कार्ड ?
माई नम्बर कार्ड फोटोसहितको परिचयपत्र हो, जसमा व्यक्तिको विशेष नम्बर (Individual Number) हुन्छ । जापानमा ३ महिनाभन्दा बढी बसोबास गर्ने विदेशी नागरिकले पनि यो कार्ड बनाउन सक्छन् । यसलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स), परिचय खुल्ने प्रमाणपत्र र विभिन्न सरकारी सेवा लिन प्रयोग गर्न सकिन्छ ।
गत डिसेम्बरदेखि परम्परागत बीमा कार्ड जारी गर्न बन्द गरिएकाले अब माई नम्बर कार्ड नै बीमाको आधिकारिक माध्यम बनेको छ । सरकारका अनुसार यसको मुख्य फाइदा भनेको चिकित्सा जानकारीको आदानप्रदान हो । बिरामीको सहमतिमा अस्पतालहरूले विगतका औषधि र उपचार विवरण हेर्न सक्छन्, जसले उपचारलाई छिटो र प्रभावकारी बनाउँछ । आपतकालीन अवस्थामा एम्बुलेन्स टोलीले पनि बिरामीको डेटा हेरेर तत्काल प्राथमिक उपचार सुरु गर्न सक्छन् ।
कार्ड नहुनेहरूका लागि के छ विकल्प ?
अक्टोबरको अन्त्यसम्म जापानको ८० प्रतिशत जनसंख्यासँग माई नम्बर कार्ड भए पनि स्वास्थ्य बीमाका रूपमा यसको प्रयोग दर ३७ प्रतिशत मात्र छ। कतिपयले कार्ड हराउँदा व्यक्तिगत विवरण दुरुपयोग हुने डरले पुरानै कार्ड प्रयोग गरिरहेका छन् ।
जोसँग माई नम्बर कार्ड छैन वा जसले यसलाई बीमा कार्डका रूपमा दर्ता गरेका छैनन्, उनीहरूका लागि ‘स्वास्थ्य बीमा योग्यता प्रमाणपत्र’ (Health Insurance Eligibility Certificate) को व्यवस्था गरिएको छ । यो प्रमाणपत्र सम्बन्धित बीमा संघ वा निकायले स्वतः जारी गर्नेछन् । ए-फोर (A4) साइजको कागजमा हुने यो प्रमाणपत्रलाई परम्परागत बीमा कार्डजस्तै सुरक्षित राख्नुपर्छ ।
साथै, हाललाई पुरानो स्वास्थ्य बीमा कार्ड भएका व्यक्तिहरूले आगामी मार्च महिनाको अन्त्यसम्म सोही कार्ड देखाएर उपचार सेवा लिन सक्नेछन्, तर यसका लागि अस्पतालले बिरामीको योग्यता पुष्टि गर्न सक्नुपर्नेछ ।
थप जानकारी र सहायता
सरकारले सबैलाई नयाँ प्रणालीमा जान प्रोत्साहन गरिरहेको छ । माई नम्बर कार्डलाई स्वास्थ्य बीमासँग लिंक गर्न वा अन्य जानकारीका लागि आफ्नो नगरपालिका वा स्वास्थ्य संघमा सम्पर्क गर्न सकिन्छ । विदेशी नागरिकहरूको सुविधाका लागि बहुभाषी हटलाइन सेवा पनि सञ्चालनमा छ । नेपाली भाषामा समेत कुरा गर्न मिल्ने गरी ०१२०-०१७८-२७ (0120-0178-27) मा फोन गरेर आवश्यक सहयोग लिन सकिन्छ ।








