
गत सेप्टेन्बर ३० तारिख रातीको २२:३० बजे म मलेशियन एअरलाइन्सको क्वालालम्पुर हुँदै म नारिता एअरपोर्टबाट लण्डन तर्फ उड़ें । पहिलोपल्ट यति लामो उडान, जहाँ जाँदा पनि सिधा उडान मार्फत जाने बानी परेको म, यो पटक जाने कि नजाने भन्दाभन्दै अन्तिम क्षणमा निर्धारण भएको मिति महाअष्टमीको दिनको परेछ । महंगीको कारण समयको दोहोरो मारमा परेको म, सिधा उडान छोडेर उल्टो बाटो मलेशियाको राजधानी क्वालालम्पुर हुँदै इन्ल्याण्ड जाने २० घण्टे यात्रामा निस्किएको थिएँ ।
काकाको घर एअरपोर्टबाट अलि टाढा छ भन्ने त बेलाबेला सुनेको थिएँ तर लिन आउने हो कि होइन ! धेरै वर्षपछि हुन लागेको भेट कस्तो होला ? यस्तै–यस्तै विचारहरू मनमा आइराखेको थियो । त्यति टाढा होला भन्ने चाहिँ मैले अनुमान गरेको थिएन । हामी नेपालीहरूको बानी नक्शा पल्टाएर हेर्ने, चाहिएको सूचना आफैं संकलन गर्ने र आत्मनिर्भर बन्ने बानी त परै जावस् । यो प्राय: हाम्रो पुस्ताका नेपालीहरूमा शैक्षिक नीति नै यस्तो भएर पो हो कि ?
तीसौं वर्ष विदेशमा बसे पनि परजिवी बन्ने बानीबाट हामी नेपालीहरू माथि उठ्न सकेनौं । म अझै पनि आफू देखि आफैं लज्जित छु यति टाढा अँकललाई लिन आउने विशेष अनुरोध गरेकोमा । हिथ्रो एअरपोर्ट पुग्दा बुधबारको साँझ ४:३५ मा पुग्नु पर्ने उडान ३:३५ मा नै उत्रियो, शायद हावाको वहाब उत्तर तिरै भएर होला कि ? जुन जुलाईमा नेपाल गएर आउँदा पनि काठमाण्डौंबाट साढे सात घण्टा लाग्ने उडान ६ घण्टामा नै पूरा भएको थियो । लिन आउने मान्छेलाई कुराउनुको सट्टा आफू नै कुर्नु परेको धेरै उदाहरणहरू मध्य यो यात्रा पनि एक बन्न पुग्यो ।
हवाईजहाज लण्डनको स्थानिय समय अक्टोबर १ तारिख दिउँसो ३:३५ बजे हिथ्रो एअरपोर्टमा उत्रियो । अनि म पुग्नु पर्ने चाहिँ हिथ्रो एअरपोर्टबाट २७५ माइलको दुरी पार गर्दै प्लाइमाउथसम्म । मनमोहक दृष्य क्यामेरा र मन–मुटुमा कैद गर्दै काकाको घर प्लाइमाउथ जाने बाटोमा देखिएको अनौठो दृष्य जमिन र आसमान जोडिएको जस्तो देखिने क्षितिजको बक्र रेखा आफ्नै आँखा अगाडि फैलिने कति मनमोहक स्वरूप थियो त्यो पृथ्वीको, आहा !
गफाडि म सररर
काकाको मर्सीडिज बेन्चको कालो सिसा बेलाबेलामा तल झार्दै फोटो खिच्दै, नयाँ दृष्यको अनुभूति लिंदै, छक्क मख्ख र दँग म । यो यात्रामा दुई दिन नसुतेको थकान भन्दा पनि बढी मोहित दृष्यले आकर्षित गर्यो मेरो मन, अनि थकान त कहाँ हरायो–हरायो । ‘अच्छा लेकिन लण्डनको चिसोले समाउँदा’ भन्ने गीत पनि गुनगुनाउँदै हामी पुग्यौं काकाको घर ।
आफूभन्दा उमेरमा कान्छो काकाको घरमा दशैं मनाउन, उहाँको २३ वर्षे लण्डन बसाइमा पहिलो पल्ट पुगेको थिएँ । काकाकाकीले पनि अत्यन्त माया, प्रेम र सद्भाव देखाउनु भयो । मन पुलकित भयो । २०२१ ताका नेपालमा मनाएको दशैं पछि नेपालको नै झल्को दिने खालको भेटघाट र सम्झना रह्यो यो दशैं २०८२ को ।
प्लाइमाउथमा भेट भएको चितवनको कमल दाहाल भाइ र परिवार, नेपालबाट पाल्नु भएको आमा–बुवा, डा. राजन घले, इ. गणेश तिमल्सिना तथा सम्पूर्ण प्लाइमाउथबासी नेपालीहरूमा धेरै धेरै धन्यवाद !
टीकाको भोलिपल्ट अचला त सबेरै कलेजको डोर्मेटरीमा फर्किइ हालीन् पढाइ र पार्ट–टाइम कामले गर्दा । काकाकाकी र म प्लाइमाउथको विभिन्न स्थानीय स्थानहरू डुल्न निस्कियौं, जहाँबाट पानी जहाजहरू मान्छे र कार्गो बोकेर जर्मनी, इटाली लगायत अन्य युरोपियन मुलुकमा जाँदो रहेछ । जापानको मध्य गर्मी ३३ डिग्री सेल्सियस छोडेर गएको म उता त ७ डिग्री, मुटु नै कमाउने जाडो भन्दा पनि फरक नपर्ने रहेछ । मान्छेलाई खुशी हुन के वर्षातको उन्मातले र के ठण्डीको लुगलुगले छेक्थ्यो र !
शुक्रबार हामी दिनभर डुल्न निस्कियौं, किंग्स बर्गरमा कफी र खाजा खायौं, अनि बेलुका काकाको काम भएकोले हामी ५ बजेतिर घर फर्कियौं । काका आफ्नो रेष्टुरेन्ट सम्हाल्न जानुभयो, हामी फ्रिजबाट खाना निकालेर टेबलमा सजाउँदै, बकम्फुसे हाँडिगाउँको हल्ला गर्दै मासु चिउरा दही मिठाइ फलफूल के के खायौं के के ।
वाह कत्ति रमाइलो !

शनिबार काकाको रेष्टुरेन्टका भाइ–बहिनीहरू टीका लगाउन आएका थिए । आइतबार बिहानै म प्लाइमाउथबाट काकाले अनलाइनबाट बुक गरेको हाई–वे बसको टिकट लिएर किंग्सबरीमा रहेको मेरो भाइको घर तर्फ लागें । भाइ हिथ्रो एअरपोर्ट बस–टर्मिनलमा लिन आइराखेको थियो र घरमा बुहारी उषा, भदैनीहरू गाजल र गहना र भदा शार्थक तथा मेरा दुई छोरीहरू प्रिया र आयुमी मलाई कुरेर बसिराखेका थिए, अनि सहयोगी पनि थिइन् हेमा राई ।
हामी १ बजेतिर पुग्यौं । मैले भाइ–बुहारी र केटाकेटीहरूलाई दशैं २०८२ को टीका लगाई दिएँ, अनि सबैजना रमाइलो गर्दै खाना खायौं । धेरै वर्ष पछि लण्डनमा मेरो खुशी यसरी समेटिएको थियो ।
प्रिया र आयुमी आ–आफ्नो घर फर्किए, हामी धेरै वर्षपछिको पारिवारिक गफमा मस्त र व्यस्त रह्यौं । सोमबार भाइ र म किंग्सबरीको स्कोन टेम्पल, अक्षरधाम र अन्य स्थानिय ठाउँहरू डुल्दै इन्डियन रेष्टुरेन्टमा खाना खाएर घर फर्कियौं । ३ दिनको किंग्सबरी बसाइ चुट्कीको भरमा सकियो ।
फर्किंदा बाटोमा स्टेशन हुँदै ‘विन्डसर क्यास्सल’ (स्वर्गिय महारानी एलिजाबेथ र राज–परिवारका अन्य सदस्यहरूको चिहान भएको महल) संसारको सबैभन्दा पूरानो र क्षेत्रफलको हिसाबले पनि धेरै क्षेत्र ओगटेको चिहान महल रहेछ यो । वर्षैभरि आगन्तुकहरूको लागि खुला रहने यो महल ११ औं शताब्दीमा बनेको र यसमा अहिले ४० राजा–रानीहरूको चिहान रहेछ । यस क्यास्सलमा केही थान फोटो र भिडियोहरू क्यामेरामा कैद गर्दै हामी ‘वेम्ब्ली स्टेडियम’ तर्फ लाग्यौं, जहाँ इङ्गल्याण्डले सन् १९६६ मा जर्मनीलाई २ को विरुद्ध ४ गोलले पराजित गर्दै आफ्नो पहिलो फुटबल विश्वकप जितेको थियो ।
त्यसपछि ‘वेम्ब्ली ओलम्पिक पार्क’ हेरी, म र भाइ छोरी प्रियाको घर रेडिङ्गमा तर्फ लाग्यौं । भोलिपल्ट म र प्रिया डबल–डेकर बसको वन–डे–पास किनी पूरा रुटहरू पत्ता लगाउँदै आधा लण्डन शहर घुम्यौं । कहिले नातिनी कियारालाई स्कुल छोड्न त कहिले फार्मर्स मार्केटमा तरकारीहरू किनमेल गर्न ।
१० तारिख दिनभर सिटी–सेन्टर, पाउण्ड ल्याण्ड र प्राइममार्क सुपरमार्केट डुल्दै कफी र स्न्याक्स खाँदै गफ गर्दै हामी निस्कियौं बजारबाट कियारालाई पिक–अप गर्न स्कुल तर्फ । त्यो दिन पनि बाँकी रहेका आधा लण्डन घुमेर सकियो, तर डबल–डेकर बसमा मन लागे जस्तो भिडियो खिच्न अझै सकिएको थिएन ।
त्यसपछि बिहीबार बेलुका सचिनसँग डिनर खान जाने प्रोग्राम बन्यो । हामी बेलैमा बिहानको खाना खाएर निस्कियौं दिनभर उत्तरी लण्डन डुल्नको लागि । राति ७ बजेतिर थकित भएर नातिनीलाई पिक–अप गरी हामी फर्कियौं, र ज्वाइँ पनि आउनुभयो । सबैजना नजिकै रहेको साउथ अफ्रिकन रेष्टुरेन्टमा डिनर गर्न गयौं । त्यसको नजिकै जापानी रेष्टुरेन्ट ‘वागामामा’ र ‘मारुगामे उदोन’ पनि थियो, तर सबैको रोजाइमा साउथ अफ्रिकन रेष्टुरेन्ट नै पर्यो ।
लण्डनको अपार्टमेन्टहरूमा धाराको पानी जाने ड्रेनेज सिस्टममा अलि समस्या रहेछ — जापानको जस्तो जति धारा खोले पनि सरर पानी नजाने । हरेक पटक कि त प्लम्बर बोलाउनुपर्ने, कि पम्पले पानी तानेर फ्याक्नु पर्ने । तर घरमा चाहिने सामान भने सबै अनलाइनबाट मगाएको १५ देखि २० मिनेट भित्रमा सबै कोठाको करिडोरसम्म आइपुग्ने । एकदम छिटो अनि सजिलो त्यसमा डेलिभरी चार्ज पनि खासै नलाग्ने । यो कुरा खूबै मन पर्यो मलाई लण्डनको । ट्रान्सपोर्टेशन सिस्टम पनि विश्वकै नम्बर एक ।
मलाई त पाँच दिन रेडिङ्ग बस्दा ड्राइभ गर्ने कन्फिडेन्स पनि बढेर आइसकेको थियो । तरिका निकै सजिलो लेफ्ट ह्यान्ड ड्राइभिङ्ग अनि सिग्नल कति तल, हातैले समाउन मिल्ने जस्तो । देख्दा पनि सुन्दर देखिने सबै ट्राफिक लाइटहरू । ११ तारिख छोरी मलाई लिन कामबाट सिधै आई रेडिङ्गमा । एक रात सँगै बसेर हामी फर्कियौं छोरीको अपार्टमेन्ट टावर–ब्रिज स्टेशन, सेन्ट्रल लण्डन तर्फ । अन्डर–ग्राउण्ड रेल जुबली लाइनबाट लिभरपुल–स्ट्रीट स्टेशन हुँदै, हामी लाग्यौं डबल–डेकर बस चढेर छोरीको अफिसियल अपार्टमेन्ट तर्फ ।
१२ तारिख आइतबार हामी बकिङ्घम प्यालेस, चाइना टाउन र इम्पेरर क्यासिनो डुल्न गयौं र राति श्रीराम रायमाझीसँग भेटेर डिनर खाई घर फर्कियौं । श्रीराम मेरो नयाँ बानेश्वरको नेक्स्ट–डोर छिमेकी र बाल्यकालदेखिको साथी हो । श्रीराम सन् १९९६ मा लण्डन स्कुल अफ इकोनोमिक्सबाट गोल्ड–मेडल ल्याई चार्टर्ड–अकाउन्ट सकेर अहिले ट्याक्स एडभाइजरको रूपमा काम गरिराखेका छन् । धेरै धन्यवाद श्रीराम यो आतिथ्यताको लागि ।

१३ तारिख सोमबार भाइ फेरि मलाई लण्डन डुलाउन लिन आयो । त्यो दिन हामी ब्रिटिश म्यूजियम गयौं । मलाई भने ‘नेपाल कर्नर’ खुब हेर्न मन लागेको थियो । नेपाली राजनीतिज्ञहरूले फैलाएको हौवा नेपालका धेरैजसो महत्वपूर्ण चिजबिज, मूर्ति र दस्तावेजहरू ब्रिटिश म्यूजियममा छन् भन्ने सुनेर । तर राजा र राज–परिवारका सदस्यहरूलाई बदनाम गराउने कुचेष्टा रहेछ यो सबै । यस्तो अफवाह चलाउनेलाई त सजाय दिनु पर्ने हो आफ्नै देशको बेइज्जत गर्ने बदमासहरू !
ब्रिटिश म्यूजियममा त्यस्तो महत्वपूर्ण नेपालको सामग्री केही थिएन । ३ बजेपछि कृष्ण बजगाईं दाइ पनि मलाई भेट्न आउनुभयो र हामी केहीबेर संग्राहलय अवलोकन गरी बाटोमा कफी सँगै पिएर छुट्टियौं र म बस चढी घर फर्किएँ । त्यो दिनदेखि मलाई एक्लै लण्डन डुल्ने कन्फिडेन्स बढेर आयो । मङ्गलबार पनि म एक्लै लण्डन डुल्न निस्किएँ घरबाट बस चढेर लिभरपुल स्ट्रीट–स्टेशन, र त्यसपछि स्काई–गार्डेन र होराइजेन–२२ (हाम्रो टोकियोको तोचो–बिल्डिङ्ग जस्तै) पूरा लण्डनको भ्यू देखिने ५८ तल्ले बिल्डिङ्ग डुलेर, सम्झनामा केही फोटो र भिडियो तथा केही थान भिडियो टिकटकमा पोस्ट गरी म फर्किएँ घर सेन्ट्रल लण्डन ।
बुधबार भाइ कुमार सिंहखडा (जो जापानमा १४ वर्ष बसेर लण्डन मुभ हुनु भएको थियो) सँग अल्डगेट स्टेशन बाहिर भेटेर कफी पिएर हामी अलग्गियौं । म अल्डगेट स्टेशनबाट उल्टोतिर सुमन खरेल दाइलाई भेट्न ह्यारो–इन–द–हिल स्टेशन तर्फ लागें र कुमार भाइ जानुभयो आफ्नो घर किङ्ग्सबरी स्टेशन तर्फ ।
सुमन दाइ मेरो स्कुल पढ्दा देखिको साथी रचना खरेलको दाइ हुनुहुन्छ । दाइलाई मेरो हालसालै प्रकाशित भएको किताब ‘संघर्ष १०१’ उपहार दिएँ र दाइको किताब ‘रेडियो यात्रा’ पनि सँगै उपहारमा लिएर फर्किएँ म टावर–ब्रिज स्टेशन, सेन्ट्रल लण्डन ।
१४ तारिख म एक्लै डुड प्यालेसबाट रेल चढेर बेकर–स्ट्रीटसम्म गएँ र त्यहाँबाट ३ मिनेट पैदल हिंडेर म्याडम–टुसाउड । म्याडम टुसाउड सन् १८३५ मा फ्रेन्च मूर्तिकार मारिए टुसाउडद्वारा बनाइएको मैनबाट बन्ने मानव आकृति र कदको आकर्षक मैन–संग्राहलय हो । यो मैन–संग्राहलय संसारको २३ वटा स्थानमा भए पनि विश्व–प्रसिद्ध चाहिँ लण्डन, न्यूयोर्क र जापानको टोकियोमा छ ।
हुन त यस्ता संग्राहलयहरू मैले न्यूयोर्क र जापानमा हेरिसकेको थिएँ, तर जतिचोटी हेरेपनि रमाइलो लाग्ने त्यही देशको सम्झना स्वरूप मन–मुटुमा सजाउनको लागि । यसरी मैले पूरा लण्डन एक्लै डुलेर सकें ।
मलाई पनि एक्लै डुल्न सकेकोमा गर्व महसुस भैरहेको थियो र अझ लण्डन–बसाइलाई बौद्धिक र सकारात्मक बनाउने उत्प्रेरणा जागिरहेको थियो । १६ तारिख घर नजिकैको वरिपरि डुलें जापान फर्किने तयारी सहित साथीभाइलाई केही चकलेट, ‘I Love London’ लेखेको टिसर्टहरू र केही थान कि–रिङ्गहरू किनी, लन्च पनि एक्लै बाहिर खाएर साँझ घर फर्किएँ ।
खाना बनाउन झ्याउ लाग्यो फेरि आमा–छोरी नजिकै रहेको कोरियन रेष्टुरेन्ट ‘शोल–टोकियो’ मा डिनर खान गयौं । खाना ठीकै थियो । धेरै दिनदेखि जापानी खाना मिस भैरहेकोले मलाई अलिकति भए पनि यसले न्यास्रो मेटाइ दियो ।
१८ तारिख शनिबार हामी पूरा लण्डन साइट–सिइङ्ग गयौं । त्यो दिन पनि साह्रै रमाइलो भयो पूरा लण्डन डुलेर सक्यायौं जस्तो अनुभूति भैराखेको थियो मलाई । अङ्ग्रेजीमा उद्घोषण सुन्दै बिग–ब्यान्ड, जहाँ लण्डनबाट देखिने घडी–टावर रहेको छ, हेर्यौं । बिग–ब्यान्ड लण्डनमा हुने ठूला–ठूला कार्यक्रमहरू छायांकन हुने स्थल हो र यो शहरको धनी ज्याज–म्युजिक सम्पदा पनि हो ।

यहाँ उच्च–प्रोफाइल ज्याज–म्युजिशियनहरूको शोहरू हुन्छन् र BBC का कार्यक्रमहरूमा देखाइने प्रदर्शनहरू पनि भइरहन्छन् । यहाँ प्राय: जसो जीवन्त शोहरू live telecast पनि भैरहन्छन् र जसमा स्थापित अर्केस्ट्राहरू, कलेजका समूहहरू र नयाँ ब्यान्डहरू प्रस्तुत हुनुका साथै अन्य सार्वजनिक रुचिका ब्यान्डहरू पनि प्रदर्शन हुन्छन् र रोयल–अल्बर्ट हल र एब्बी–रोड स्टुडियोजस्ता प्रसिद्ध स्टुडियोज पनि यहीँ छन् ।
वेस्ट–मिनिस्टर (प्रधानमन्त्रीको कार्यालय), लण्डन–आइ (पूरा लण्डन देखिने रोटे–पिङ), बकिङ्घम प्यालेस, लण्डन–ब्रिज र अझै प्राय: जसो सबै प्रसिद्ध ठाउँहरू हेरेर फर्कियौं हामी । त्यौ दिन पैसाको पूरा सदुपयोग भयो र सन्तुष्टि पनि भरपूर ।
त्यो दिन बेलुका हाम्रो प्रतिक्षित डिनर–प्रोग्राम पनि थियो इन्डियन रेष्टुरेन्ट ‘डिस्युम’ मा । तीन–तीन महिना अगाडि देखिको बुकिङ्ग हुने रहेछ लण्डनको यो शाखामा । त्यहाँको बिर्यानी, ल्याम–चप, ओक्रा–फ्राइ, लिम्का र पिस्ताचियो कुल्फी, र कचुम्बर–सालादको त के कुरा गर्नु र ! यति मीठो खाना त मैले जिन्दगीमा शायदै खाएको थिएँ होला जस्तो अनुभूति भयो मलाई । यदि लण्डन जानुहुन्छ भने त्यो रेष्टुरेन्टमा जान नबिर्सनु होला ।
१९ तारिख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू.के. ले आयोजना गरेको लक्ष्मी जयन्ती २०८२ तथा स्रष्टा–सम्मान कार्यक्रममा सहभागिता जनाएँ । धेरै धन्यवाद राज श्रेष्ठ जी, रुपक श्रेष्ठ जी, माया गुरुङ तथा सम्पूर्ण लण्डनवासी साहित्यिक मनहरूमा यो सम्मान, मीठो र आत्मीय आतिथ्यताको लागि ।
साँझ घर फर्केर भोलिपल्ट उडानको तयारी गर्न थालें । सुटकेस मिलाई फोनमा ५ बजेको अलार्म राखी सुतें । भोलिपल्ट ६:३० मा मेरो क्याब मलाई हिथ्रो एअरपोर्ट पुर्याउन लिन आयो र गएको बाटो हुँदै म लागें घर टोक्यो तर्फ । शुरु भयो मेरो २० घण्टे लामो हवाईजहाजको यात्रा लण्डन टु क्वालालम्पुर र क्वालालम्पुर टु टोक्यो ।








