टोकियो – नेपाली बक्स अफिसमा १० करोडभन्दा बढीको ग्रस कलेक्सन गर्दै धूम मच्चाएको फिल्म ‘जेरी अन टप’को मुख्य कलाकारसहितको टिम जापान पुगेको छ । जापानस्थित नेपाली समुदायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको टिमलाई शनिबार बिहान भव्य स्वागत गरेको हो ।
अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ र आँचल शर्मासँगै निर्देशक सुयोग गुरुङ र निर्माता सरोज न्यौपानेलगायतको टोलीलाई जापानमा न्यानो स्वागत गरिएको छ । यसअघि शुक्रबार काठमाडौंमा फिल्मले १० करोडको आँकडा पार गरेपछि भव्य केक काटेर सेलिब्रेसन गरिएको थियो । यो फिल्म अनमोल केसीको करिअरमै सर्वाधिक कमाउने फिल्म बनेको छ ।
जापानमा ‘जेरी अन टप’को रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । नोभेम्बर ३ तारिख सोमबारका दिन नाकानो जेरो हल, टोकियोमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
सुयोग गुरुङ निर्देशित यस फिल्ममा अनमोल, जसिता र आँचलका अलावा केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ । हेमराम बिसीको कथामा विश्वास तिम्सिनाले पटकथा लेखेको यो फिल्मले सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ ।









