
नेपालमा राणा शासन अघि पनि बाइसे/चौबिसे राज्यहरुको चरम शोषण, दमन अन्याय अत्याचारमा पिल्सिएका थिए नेपाली जनता । त्यसपछि झन एकसय चारवर्षे राणा शासनमा देश फस्यो । राणाहरुले गर्न सकेको जालजेल, शोषण दमन, अन्याय, अत्याचार, जातीय विभेद अनेक तिकडम अपनाएर नेपाली जनतालाई जंगली अवस्थामै राखे । त्यतिवेला न स्कुल थिए, न कलेज थिए । जनतालाई पढ्नको लागि स्कुल जाने अधिकार थिएन, प्रतिवन्ध लगाइएको थियो । जनताले न पढ्न पाए, न बोल्न पाए, न आफ्नो देश बनाउन पाए । अधिकारको लागि आवाज उठाउने जनतालाई राणाहरुले चरम यातना, फाँसी र मृत्युदण्ड दिएर दवाउने काम भयो । आफु र नेपाली जनताको हक अधिकारको निम्ति लड्दा लड्दै गंगाला, धर्मभक्त, शुक्रराज लगाएतका कैयौं योद्धाहरुलाई राणाहरुले फाँसी दिएर मार्ने काम गरे । जनताले कन्दमूल खाएर, पशुको जस्तो जिवन गुजारेर पुष्ता हस्तान्त्रण गर्नु सिवाय उनीहरुसँग अरु केही उपाए थिएन । १०४ वर्षे राणा शासनको अत्यको लागि २००७ सालमा युवा, विद्यार्थी, बुद्धिजिवि, भूमिगत रुपमा संचालित र संगठित दलहरुले गरेको आन्दोलनमा राणा शासनको अत्य त भयो तर त्यसलाई नेपाली काँग्रेसका बिपिकोइरला लगाएतका नेताहरुले टिकाउन सकेनन् । निरंकुश राणा शासनपछि पुनः राजा त्रिभूवनले राज्यसत्ता हातमा लिएर तानाशाही पंचायती व्यवस्थाको शुरुवात गरे । पंचायती व्यवस्थामा पनि पार्टी खोल्न, बोल्न लेख्न सार्वजनिक ठाउँमा कार्यक्रम गर्न मनाही थियो । ३० वर्षे तानाशाही पंचायती व्यवस्थामा पनि कताकति स्कुल कलेज थिए, विदेशिले बनाईदिएका कलकारखाना थिए, बश अरु केही थिएनन् । गाउँघरका मानिसहरुले पढ्न पाउँदैनथे । अहिले पनि पचास साठी काटेका कतिपय महिला पुरुषहरुले पढ्न नपाईकन जीवन गुजार्नु परेको थियो । चप्पल थिएनन्, जुत्ता चप्पल नलगाईकन वनजंगल भिरपाखा पखेरा र टाढाको यात्रा गर्नु बाध्यता थियो । ठेसलाग्नु, खुट्टामा काँडा गाडीएर दुःख पाएको संझदा पनि कहाली लाग्छ । अहिलेको जीवन र उतीवेलाको जीवनमा आकाश पातलको फरक थियो । जीवन पशुको जस्तै थियो । रोईरोई जीवन काटेका थिए मानिसहरुले । जनतालाई यस अवस्थामा राख्ने पनि शासकहरू नै हुन ।
तानाशाही पंचायती व्यवस्थाको अन्त्यको लागि २०४६ सालमा पुनः जनआन्दोलन भयो । थुप्रै आन्दोलनकारीहरु मारीए, जेलपरे तर अन्तमा राजासँग काँग्रेस बाम सम्झौता भएर संवैधानीक राजा राख्ने सहमतीमा आन्दोलन रोकियो । जननिर्वाचित प्रधानमन्त्री हुने, दलहरु रहन पाउने सिवाय अन्य परिवर्तन देशमा केही भएन । देशमा कतै कतै स्कुल, बाटो खोल्ने काम भयो । तर जीविकोपार्जनको लागि जनतालाई रोजगारी दिने खालका कामहरु कतै पनि हुन सकेनन् । राजाका पालामा भएका कलकारखानाहरु पनि केही बन्द गर्ने काम भए, केही भारतीय प्राइभेट कम्पनीहरुलाई बचियो र अन्तमा उनीहरुले ति कारखानाहरु बन्द गरिदिए । नेपालका कलकारखानाहरू बन्दहुनु भनेको भारतलाई फाईदा हुनु हो, साथै उनीहरूको चाहाना अनुरूपको काम कुरा हुन्थ्यो र भयो ।
२०५१ देखि चलेको माओवादी द्वन्द्व, राजा बिरेन्द्रको वंश नाश, ज्ञानेन्द्रले सत्ता हातमा लिने जस्ता कामले २०५७ देखि देश पुनः अप्ठ्यारोमा पऱ्यो, त्यसैको फलस्वरुप २०६२/६३ मा ठूलो जनआन्दोलन भयो, २२/२५ जनाले ज्यान गुमाए । राजाले सत्ता त्यागेर वनमा नागार्जुन दरवारमा गएर बसे । त्यसपछि माओवादी सहित देशमा एमाले, नेपाली काँग्रेस लगाएतका ३०० भन्दा बढी पार्टीहरुले नेपालमा राज्य संचालन सहभागी हुँदैआएका छन । तर देशमा आमूल परिवर्तन हुन सकेन । हिजो पंचायती व्यवस्थामा रहेर काम गरेका मानिसहरु रातारात एमाले काँग्रेस बने र मिलिजुली देश दोहन गर्न कम्मर कसेर लागे, जनताका पिडा, समस्या र घाउहरुमा मलम लगाउने काम गरेनन् तर देश बाहिर अन्तर्राष्ट्रिय जगतमा नयाँ प्रविधि र आविस्कारमा उथलपुथल भइरेको थियो । इमेल इन्टरनेट, फोन, मोवाईल, कम्प्युटर, फेवुक, गुगल, युट्युव, इन्सटाग्राप, भाइवर, इमो, टुइटर, टिकटक, लाईन, लगाएतका सयौं सामाजिक संजालको विकास भयो र सन् १९९७ पछि जन्मेका बच्चाहरुले त्यसलाई भरपुर प्रयोग गर्न पाए । उनीहरूले संसारलाई आफ्नो मुठ्ठीमा राखेर बिचरण गर्दै नियाल्न थाले । गलत र सही के हो, नवयुवाहरूको मार्गदर्शन के हो उनीहरूले केलाउन थाले ।
नेपालमा भएको के हो भने विश्व द्रुत गतीमा अघि बढरहेको थियो तर नेपालका सत्तासिन वर्गहरुले त्यसलाई समात्न सकेनन् बरु उनीहरु कसरी देश दोहन गर्न सकिन्छ भनेर भ्रष्टाचारमा लिप्त हुन पुगे । २०८२ भाद्र २३/२४ मा जेन-जी विद्रोहको गाँठी कुरा, राणा काल, पन्चायतकाल हुँदै २०४६ पछि विकसित शासकिय घटना क्रम हुन, राजनीतिक पार्टीहरूका गलत क्रियाकलाबको उपज हुन । जब गाउँ गाउँमा बाटो गयो, स्कुल कलेज खोल्न थालियो । खुट्टमा चप्पल नलगाउनेले चप्पल लगाउनु पर्ने भयो, स्कुल नजानेहरु स्कुल जानु पर्ने भयो । गाउँमा जे उब्जीन्छ त्यही ढिंडो आटो, कन्दमुल खाएर ज्यान गुजारा गरिरहेका जनताले भात खानु पर्ने भयो अनि दालचामल किन्नु पर्ने भयो । पहिला भन्दा नयाँ नयाँ रोगहरू आउन थाले, बच्चाबच्चीलाई राम्रो स्कुलकलेज पढाउन गाउँ छाड्नु पर्ने भयो । यी यावत कुराहरुको लागि मानिसलाई नगद पैसा चाहीने भयो । नगद पैसा थोरैले पनि नपुग्ने भयो । त्यसपछि मानिसहरु धेरै पैसाको खोजिमा विदेश जान शुरु गरे । विदेशमा कमाएको पैसाले जनताको घर पनि चल्लने, देश पनि चल्ने भएपछि नेताहरु हौंसिएर पासपोर्ट सबै नेपाली जनतालाई दिन थाले । एकातिर देशमा पुजीवादको विकास, कलकारखान, उद्योग धन्दाको विकास नहुनु, अर्कोतिर तिब्ररुपमा युवाहरु उत्पादनहुनु र उहीहरुको रोजगारको व्यवस्था हुन नसक्नु जस्ले गर्दा युवाहरु १७/१८ वर्षमै पासपोर्ट बनाएर विदेशीन बाध्य भए । विदेशमा गएर उनीहरुले विदेशीहरुले गरेको उन्नती र प्रगती देखे । विदेशीहरुले कसरी आफ्नो देश बनाएका छन भन्ने कुरा युवाहरुले बुझे । देशमा व्यप्त इमेल इन्टरनेट, प्रेस र समाजीक संजालले युवाहरुलाई प्रशिक्षित गरिरह्यो । देशमा नेताहरुले गरिरहेका गलत कामकारवाही तथा भ्रष्टाचारको बाहिरबाट राम्रोसँग अध्यायन गर्ने मौका युवाहरुले प्राप्त गरे । अन्तमा एकातिर करप्सन व्यप्त हुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाल धेरै करप्सन हुने देशमा पर्नु र नोकरशाही दलाल ओली सरकारले समाजीक संजाल विना बाँच्नै नसक्ने भएका युवाहरुलाई राम्रोसँग नबुझाईकन समाजीक संजाल एक्कासी बन्द गर्न पुग्नु नै जेन–जी आन्दोलनको जड थियो । तर नेपालको जेन-जी आन्दोलनमा साम्राज्यवादी र विस्तारवादीहरूबाट घुसपैठ भएको कुरा प्रष्टै छ । जेन-जीको नाममा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका जसरी जलाउने काम भयो त्यो अत्यान्तै दुखदायी कुरा हो । देश जलिरहँदा देशको सुरक्षार्थ खटिएका सेना र पुलिसहरूले आगो समेत निभाउने काम गरेनन् दुई तिन दिनसम्म सर्वोच्च, सिंहदरबार संसद भवन जलिरहे ।
अहीले देशमा वैदेशिक रोजगारीका कारण समाजमा असहज वातावरणको विकास भएको छ । कैयौं युवाहरुको घरबार बिग्रीएको छ । छोराछोरी टुहुरा भएका छन् । हजारौं महिलाका कोख रित्तिएका छन, सिंदुर पुछिएका छन । सयौं युवाहरु विदेशका जेलमा छन् । प्रत्येक दिन १५ हजार युवा विदेश जान्छन भने प्रत्येक दिन १०/१२ वटा लाश नेपाल भित्रिने गर्दछन । जो युवाहरु विदेश जान्छन् उनीहरुलाई आधुनिक काम गर्ने पद्धतिको विषयमा जानाकारी नै हुँदैन । केवल मुडेवलमा जोखिमूर्ण काम गर्दा युवाहरुको अकालमै ज्यान जान्छ । आधुनिक समाज विकास, वैदेशिक रोजगार, सामाजिक संजालको प्रयोग र युवाहरुको चाहानालाई वास्ता नगरी नेताहरुले पालैपालो सरकारमा सिन्डिकेट चलाईरहनु, भ्रष्टाचारी, अपराधी, भ्रष्ट आफन्तलाई उन्मुक्ति दिने, संरक्षण गर्ने जस्ता कार्यले पनि युवा पुष्ता आजित भइरहेको थियो । यो समाज बनाउने, देश बनाउने युवाहरुलाई वाइपास गरेर गरिने कुनै पनि कार्य सफल हुँदैनन् । माओले भन्नु भएको थियोः “युवाहरु हो यो देश तिमीहरुको पनि हो र हाम्रो पनि हो तर अन्तमा तिमीहरुकै हो“ हो निश्चित रुपमा देश युवाहरुको नै हो र देश बनाउने जिम्मा पनि युवाहरुकै हो । देश बनाउने युवाहरुलाई विदेशीन बाध्य पार्ने हो भने हाम्रो देश कहिलै बन्ने छैन । अब साँच्चै देश बनाउने हो भने पुरानै पारामा देश बन्दैन । नयाँ सोंच, नयाँ प्रविधिलाई साथमा लिएर अहोरात्र खटेर, भ्रष्टाचार मुक्त कामकारवाहीबाट नै यो देश बनाउन सकिने छ, त्यसका लागि जनउत्तरदायी नेता र सरकारको खाँचो पर्ने छ। देश विकासका लागि युवाहरूलाई सहि प्रकारको शिक्षा दिक्षा दिएर अनुसाशित बनाएर देशमै रोक्नु अनिवार्य छ । देशमा कस्ता खालका युवाहरु/जनशक्तिको उत्पादन गर्ने भन्ने कुरा त्यो देश र सरकारले तय गर्ने शिक्षा नीति र राजनीतिले निर्धारण गर्दछ । अन्तमा भाद्र २३/२४ गतेको विद्रोहमा जेन-जीहरूले लगाएको नारा ”हाम्रा बाउ खाडीमा तिम्रा बाउ गाडीमा” लाई यहाँ प्रस्तुत गर्दै यो लेख बन्द गर्न चाहान्छु ।








