काठमाडौं – ‘आफ्नो घर परिवार, आमाबुवा छोडेर विदेशिने रहर हैन, बाध्यता हो ।’ यी शब्दहरू हुन् राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टका, जसले हालै आफ्नो खेल जीवनको महत्त्वपूर्ण मोडमा अष्ट्रेलिया पलायन हुने निर्णय गरेकी छन् । नेपाल एपीएफ क्लबबाट व्यावसायिक भलिबल खेल्दै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेकी मिडल ब्लकर भट्ट गत साउनमा नै आफ्नो क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी हुन् ।
उनको पलायनले नेपाली भलिबलले एक प्रतिभाशाली खेलाडी गुमाएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) स्थित सिड्नीबाट सामाजिक सञ्जालमा उनले आफ्नो मनको बह पोखेकी छन् । ‘मेरो राष्ट्रिय भलिबल टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो, तर परिस्थितिले सपना अधुरो रह्यो ।’
कविताले आफूलाई राष्ट्रिय स्तरको खेलाडीको रूपमा स्थापित गराउन सशस्त्र प्रहरीको एपीएफ क्लबले पुर्याएको योगदानलाई कहिल्यै नबिर्सने बताएकी छन् । ‘मलाई एपीएफ हुन पाएकोमा गर्व लाग्छ । मैले लामो समय एपीएफ भलिबल टिमबाट खेलेँ र त्यहीँबाट राष्ट्रिय भलिबल टिमसम्म खेल्ने अवसर प्राप्त भयो,’ उनले आफ्नो क्लबप्रति कृतज्ञता व्यक्त गरेकी छन् । उनले आफ्नो संघर्षका दिनहरूमा साथ, सहयोग र हौसला दिने सबैप्रति ऋणी रहने उल्लेख गरेकी छन् ।
भौगोलिक रूपमा टाढा भए पनि भलिबलप्रतिको उनको प्रेम र लगाव भने कम नहुने उनले स्पष्ट पारेकी छन् । ‘म जहाँ गए पनि भलिबललाई निरन्तरता दिई रहनेछु,’ उनले लेखेकी छन्, ‘जय भलिबल, जय नेपाल ।’
कविता भट्टको पलायन नेपाली खेलकुदमा देखिएको एक प्रतिनिधि घटना मात्र हो । देशमा खेलकुदको भविष्य, खेलाडीको आर्थिक सुरक्षा र सम्मानजनक वृत्ति विकासको अभावका कारण राष्ट्रिय स्तरका खेलाडीहरू विदेशिन बाध्य छन् । यसअघि भलिबलकै चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छन् ।








