टोकियो – जापानमा यस वर्ष किर्नाबाट सर्ने एक खतरनाक रोग ‘सिभियर फिभर विथ थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम’ (SFTS)को संक्रमण हालसम्मकै उच्च देखिएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान निकायले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, २०२५ मा अहिलेसम्म १३५ जनामा यो रोगको संक्रमण पुष्टि भएको छ, जुन एकै वर्षमा देखिएको सबैभन्दा ठूलो संख्या हो ।
यसअघि सन् २०२३ मा १३४ जनामा संक्रमण देखिएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च रेकर्ड थियो । यस भाइरल संक्रामक रोगबाट यो वर्ष मात्रै १० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको छ।
SFTS रोग संक्रमित किर्नाले टोकेमा वा संक्रमित व्यक्ति वा जनावरको रगतको सम्पर्कमा आएमा मानिसमा सर्ने गर्दछ । विशेषगरी घरबाहिर काम गर्ने मानिसहरूलाई छाला ढाक्ने कपडा लगाउन र आफूलाई संक्रमणबाट जोगाउन स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आग्रह गरेको छ ।
रोगका लक्षणहरू
यो रोगको भाइरस शरीरमा प्रवेश गरेको करिब ६ दिनदेखि दुई हप्ताभित्र लक्षणहरू देखिन थाल्छन् । बिरामीमा सुरुमा ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने र कहिलेकाहीँ चेतना गुम्नेसम्मका लक्षणहरू देखिन्छन् ।
वृद्धवृद्धाहरूमा यसको गम्भीर लक्षण देखिने सम्भावना बढी हुन्छ। संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी ६० वर्ष वा सोभन्दा माथिका छन् । SFTS को मृत्युदर १० देखि ३० प्रतिशत रहेको अनुमान छ र ज्यान गुमाउनेहरूमध्ये धेरैजसो ५० वर्षभन्दा माथिका रहेका छन् ।
संक्रमणको अवस्था र फैलावट
पहिले SFTS को संक्रमण पश्चिमी जापानका क्षेत्रमा बढी केन्द्रित थियो। यस वर्ष कोची प्रिफेक्चरमा सबैभन्दा बढी १४ जना संक्रमित भेटिएका छन् । तर, तथ्याङ्कले मध्य र पूर्वी जापानका साथै सुदूर उत्तरी मुख्य टापु होक्काइडोसम्म पनि संक्रमण फैलिएको देखाएको छ ।
वसन्तदेखि शरद ऋतुसम्म किर्नाहरू सबैभन्दा सक्रिय हुने भएकाले यो समयमा संक्रमणका घटनाहरू बढ्ने गर्दछन् । अगस्ट १० मा सकिएको हप्तामा मात्रै देशभर आठ नयाँ संक्रमित थपिएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । SFTS पहिलो पटक सन् २०११ मा चीनमा र सन् २०१३ मा जापानमा देखिएको थियो । हालसम्म यस रोगविरुद्ध कुनै खोप बनेको छैन, यद्यपि एन्टिभाइरल औषधिहरू उपचारका लागि उपलब्ध छन् ।








