टोकियो – संवेदनशील उपकरण निर्यातको एक मुद्दामा तीन जनालाई गलत तरिकाले पक्राउ गरेकोमा टोकियो प्रहरीले १९ जना उच्च अधिकारीलाई कारबाही गरेको छ । प्रहरी प्रमुख युजी साकोडाले सार्वजनिक रूपमा माफी माग्दै अनुसन्धानमा भएको गम्भीर त्रुटि स्वीकार गरेका हुन् ।
सन् २०२० मा मेसिनरी कम्पनी ओकावारा काकोकीका अध्यक्ष मासाआकी ओकावारासहित तीन जनालाई अवैध निर्यातको आरोपमा पक्राउ गरिएको थियो । पछि अभियोजकहरूले आरोप फिर्ता लिए पनि हिरासतमा रहेका एक जनाको क्यान्सरका कारण मृत्यु भएको थियो ।
यसअघि नै अदालतले गिरफ्तारीलाई गैरकानूनी ठहर गर्दै क्षतिपूर्ति दिन आदेश दिइसकेको छ। प्रहरी र सर्वोच्च सरकारी वकिलको कार्यालय दुवैले आफ्नो समीक्षामा अभियुक्तहरूको निर्दोषिता प्रमाणित गर्ने प्रमाणलाई बेवास्ता गरिएको स्वीकार गरेका छन् ।
प्रहरी प्रतिवेदनले अनुसन्धानको नेतृत्व तहमा रहेको कमजोरीका कारण यो घटना भएको निष्कर्ष निकालेको छ । भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन महत्त्वपूर्ण मुद्दाहरूको अनुसन्धानमा पारदर्शिता बढाइने र सोधपुछको अडियो-भिडियो रेकर्ड गरिने भएको छ ।








