Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं । सामाजिक सञ्जालमा ‘महाऔषधि’को नाममा भइरहेको घातक व्यापारमाथि औषधि व्यवस्था विभागले कडा कदम चालेको छ । फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा क्यान्सरदेखि यौनशक्ति बढाउनेसम्मका अविश्वसनीय दाबीसहित बेचिएका नौ वटा औषधिजन्य वस्तुमाथि विभागले तत्काल प्रतिबन्ध लगाएको हो ।

विभागले बिहीबार एक जरुरी सार्वजनिक सूचना जारी गर्दै चिकित्सकीय प्रमाण र गुणस्तर परीक्षणबिनै बिक्री भइरहेका यी उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा रहेको स्पष्ट पारेको छ । यी उत्पादनहरूको बिक्री-वितरण तुरुन्त रोक्न, अनलाइन विज्ञापन हटाउन र ओसारपसार नगर्न विभागले कडा चेतावनी दिएको छ ।

के-के निको पार्ने भ्रामक दाबी थिए ?
विभागका अनुसार, प्रतिबन्धित उत्पादनहरूले निम्न रोगहरू निको पार्ने ग्यारेन्टीसहित प्रचार गरिरहेका थिए:-

  • थाइराइड, प्रोस्टेट, सुगर र युरिक एसिड जस्ता दीर्घरोग

  • मोटोपन घटाउने

  • यौनशक्ति बढाउने र शीघ्रपतन रोक्ने

  • जाँड-रक्सीको लत छुटाउने

  • क्यान्सरजस्ता प्राणघातक रोग समेत निको पार्ने

विभागका महानिर्देशक नारायण ढकालले यस्ता विज्ञापनले नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको बताए । उनले भने, ‘विज्ञापनमार्फत भ्रम फैलाउने, रोग उपचारको ग्यारेन्टी दिने र बिना प्रमाण यौनशक्ति वृद्धिको दाबी गर्ने औषधि सेवनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा तत्काल हटाउन जरुरी छ ।’

यी हुन् प्रतिबन्धित नक्कली औषधि
विभागले निरीक्षणका क्रममा फेला पारेका र तत्काल बिक्री रोक्न निर्देशन दिएका उत्पादनहरू निम्न छन् । उपभोक्ताहरूलाई यी उत्पादनहरू कतै देखेमा खरिद नगर्न र सेवन नगर्न विभागले आग्रह गरेको छ:-

१. पौरुष हेल्थ जीवन

२. पौरुष जीवन

३. डिफ्यूजल –एल (Diffusal-L)

४. कायाप्लस (Kayaplus)

५. १०० हर्स पावर (100 Horse Power)

६. ३० मिनेट स्टप (30 Minute Stop)

७. डायबेटिक कन्ट्रोल (Diabetic Control)

८. जिमनेमा सिलभेस्ट्रे क्याप्सुल (Gymnema Sylvestre Capsule)

९. बूजी (Buzzy)

विभागले यी उत्पादनहरू बरामद गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ । औषधि ऐन, २०३५ अनुसार यस्ता प्रमाणित नभएका सामग्रीको उत्पादन, ओसारपसार र बिक्री-वितरण गर्नु दण्डनीय अपराध हो । विभागले यस्ता अवैध गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया