काठमाडौं – कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्ष पूरा भइसकेको बेला मन्त्री फेरबदलको चर्चाबीच कांग्रेस सभापति शेरबहादुर देउवा विपक्षमा उभिएका छन् । संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने उनले संकेत गरेका हुन् ।
केही मन्त्रीहरू ‘घुस डिल’ काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको प्रस्ताव अघि बढाए पनि सत्ता साझेदार कांग्रेस सभापति देउवाले त्यसलाई तत्कालका लागि अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी घुस डिल गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस सभापति देउवासँग मन्त्री परिवर्तनको प्रस्ताव गरेका थिए ।
तर, देउवाले ओलीको प्रस्तावमा असहमति जनाउँदै तत्काल मन्त्री परिवर्तन नहुने स्पष्ट पारेका हुन् । ‘तपाईंले आफ्नो पार्टीका मन्त्रीहरू परिवर्तन गर्ने भए गर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नन्,’ देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘अब म प्रधानमन्त्री हुने बेलामा मात्रै मन्त्री फेर्ने हो ।’
देउवाले मन्त्री बन्न लबिइङ गरिरहेका पार्टी सांसदहरूलाई पनि आफू प्रधानमन्त्री बनेपछि मात्रै अवसर आउने बताउँदै आएका छन् । यसले गर्दा मन्त्री परिवर्तनको हल्लासँगै आफ्नो पालो आउने आशामा बसेका कांग्रेस सांसदहरू निराश बनेका छन् । एकातिर देउवाले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिरहँदा, अर्कोतिर कांग्रेसभित्रै भने मन्त्रीहरूको कार्यसम्पादनको मूल्याङ्कन गरी कमजोरलाई फिर्ता बोलाउनुपर्ने आवाज बलियो बन्दै गएको छ ।








