टोकियो – तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा गीतहरूको बाढी नै आएको छ । तर, अधिकांश गीतहरूमा मौलिकताभन्दा छाडापन र सतही शब्द हाबी भइरहेको गुनासो बढिरहेका बेला सर्जक/गायक सूर्य खड्का र गायिका समिना खड्का लोहनीले चेली र माइतीको सम्बन्धको मर्म बोकेको मौलिक तीज कोसेली ‘झोला ठूलो भयो’ सार्वजनिक गरेका छन् ।
जापानलाई कर्म थलो बनाए पनि आफ्नो संस्कृति र मौलिकतालाई भुल्न नसकेका गायक खड्काको यो गीतले तीजको वास्तविक भावलाई जीवन्त बनाएको छ । गीतमा माइती जान आतुर चेलीको तयारी, बाटोमा आइपर्ने समस्या र दाजुभाइले देखाउने मायालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । ‘माइत जाने बाटोको खोला ठूलो भयो, खत्र्याङ खुत्रुङ कोसेलीले झोला ठूलो भयो’ जस्ता सरल तर शक्तिशाली शब्दले गीतको भावलाई गहिराइ दिएको छ ।
गीतमा खड्काको आफ्नै शब्द तथा संगीत रहेको छ भने उनलाई स्वरमा समीना खड्का लोहनीले साथ दिएकी छिन् । दुवैको स्वरले गीतमा लोकलयको सुगन्ध भरेको छ । यम थापा मगरको संगीत संयोजन र खड्क बाजुरालीको मिक्सिङले गीतलाई थप कर्णप्रिय बनाएको छ ।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त छ । तारानाथ आचार्यको निर्देशनमा तयार भएको भिडियोमा तीजको रमझम र पारिवारिक स्नेहलाई सुन्दर तरिकाले कैद गरिएको छ । भिडियोमा कलाकार रुबिना अधिकारी र सन्तोष सुवेदीको जीवन्त अभिनय देख्न सकिन्छ । खोला बढेर माइत जान नसकेकी बहिनीलाई लिन भाइ नै पुगेको दृश्यले हरेक दाजुबहिनीको मन छुन्छ ।
अनिल कार्कीको छायांकनले गाउँघरको प्राकृतिक सौन्दर्य र राजन पोख्रेलको कोरियोग्राफीले तीजको सांस्कृतिक नाचलाई कलात्मक रूपमा उतारेको छ । सार्वजनिक भएलगत्तै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।








