Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – पेरिस ओलम्पिकमा महिला डबल्स ब्याडमिन्टनतर्फ कांस्य पदक जितेको जापानको चर्चित जोडी चिहारु शिदा र नामी मात्सुयामाले आफ्नो साझेदारी अन्त्य गर्ने घोषणा गरेका छन् । आगामी महिना फ्रान्सको राजधानी पेरिसमा हुने विश्व च्याम्पियनसिप नै यो जोडीको अन्तिम प्रतियोगिता हुनेछ । मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा उनीहरूले यो भावनात्मक निर्णय सार्वजनिक गरेका हुन् । 

२८ वर्षीया शिदाले अब दुई पटककी ओलम्पिक मिश्रित युगल कांस्य पदक विजेता आरिसा इगारासीसँग नयाँ महिला डबल्स जोडी बनाउने योजना बनाएकी छिन्। उता, २७ वर्षीया मात्सुयामाले भने मिश्रित युगलतर्फ खेल्नेबारे सोचिरहेको बताएकी छिन् ।

जापानको दक्षिण-पश्चिमी कुमामोतो प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पेरिस ओलम्पिकमा कांस्य पदक जितेपछि कसरी आफ्नो लक्ष्य र बाटो फरक भयो भन्नेबारे खुलेर कुरा गरे । शिदाले आफू ‘विश्वकै सर्वोत्कृष्ट’ बन्ने अठोट लिएको बताइन्, जबकि मात्सुयामाले भने आफूले महिला डबल्समा आफ्नो क्षमताको उच्चतम विन्दुमा पुगिसकेको महसुस गरेको बताइन् ।

मात्सुयामाले भनिन्, ‘मैले ओलम्पिकका लागि सक्दो मेहनत गरेँ। अब म आफूलाई योभन्दा पनि बलियो बनाउन सक्छु भन्ने कल्पना गर्न सकिनँ, र अझ माथि पुग्न चाहने आफ्नो साथीको बाटोमा म बाधक बन्न चाहन्नथेँ ।’

यो जोडीले आफ्नो अन्तिम घरेलु प्रतियोगिताको रूपमा जुलाई १५ देखि सुरु हुने जापान ओपनमा सँगै खेल्नेछ । त्यसपछि उनीहरूको ध्यान पेरिसमा हुने विश्व च्याम्पियनसिपमा केन्द्रित हुनेछ, जुन उनीहरूको अन्तिम प्रतियोगिता हुनेछ ।

शिदाले भावुक हुँदै भनिन्, ‘मैले मात्सुयामासँग आफ्नो परिवारभन्दा पनि बढी समय बिताएकी छु । हाम्रो अन्तिम प्रतियोगिता पेरिसमा हुँदैछ, जुन ठाउँसँग हाम्रो विशेष सम्बन्ध छ । त्यसैले म त्यहाँ विश्व च्याम्पियनसिप जितेरै यो यात्रालाई बिदा गर्न चाहन्छु ।’

 

तपाईको प्रतिक्रिया