नेपालका युवा पुस्ताको वर्तमान मनस्थितिलाई बुझ्न जापानका गल्लीहरूमा एकैछिन रम्नुपर्छ । जहाँ भेटिन्छन् मास्क लगाएका, झोलाभरि सामान बोकेका, साइकल दौडाउँदै गरेका वा काममा पसिना बगाइरहेका नेपाली युवा, जो कुनै समय आफ्नै देशमा सपना देख्थे, ‘म देशभित्रै केही गर्छु ।’ तर आज उनीहरू हजारौँ किलोमिटर टाढा, नयाँ भाषाको बीच, फरक संस्कार र संस्कृतिको वरिपरि जीवन काट्न बाध्य छन् । किन ?
नेपालको शिक्षा प्रणालीले शैक्षिक प्रमाणपत्र दिन सक्यो, तर रोजगारीको ग्यारेन्टी दिन सकेन । सरकारी जागिर घुसमा बिकेको, निजी क्षेत्रमा न्यून पारिश्रमिक र असुरक्षा, अनि कृषिमा युवाको आकर्षण हराउँदै गइरहेको सन्दर्भमा देशभित्रको सम्भावना क्षीण हुँदै गयो । राजनीतिमा भ्रष्टाचार, नातावाद र अवसरवाद हाबी हुँदा देशप्रतिको भरोसा टुट्दै गयो । यही पृष्ठभूमिबाट हजारौँ नेपाली युवाहरूले जापानलाई रोजे, जसलाई उनीहरूले अवसरको देश ठाने ।
पहिलो पटक जापान पुग्दा आँखा सपना र डरले भरिएको हुन्छ । सुरुका दिनहरूमा भाषा बुझिन्न, काम सिकिँदैन, घडी हेर्न पनि डर लाग्छ । जापानका ठूला सहरहरूमा फैलिएका फ्याक्ट्रीहरू, सुपरमार्केटहरू र होटलहरूमा काम गर्ने नेपाली युवाले बिस्तारै बुझ्न थाल्छन्- जापान पैसा दिने देश हो, तर यौवन चुस्ने देश पनि हो । समग्रमा, विकसित देशहरूले हाम्रो युवापन रित्याइदिएका हुन्छन् ।
त्यसपछि मन एक किसिमको द्वन्द्वमा पर्छ। एकातिर सपनाहरू छन्- पैसा कमाउने, घर बनाउने, परिवारलाई सुखमा राख्ने, ऋण तिर्ने र केही वर्षपछि फर्कने। अर्कोतिर यथार्थ छ- कामको चाप, भाषाको असहजता, सांस्कृतिक दूरी र आफ्नोपनको अभाव ।
धेरै नेपाली युवाहरू जापानमा ‘टेक्निकल इन्टर्न ट्रेनिङ’ नामको कार्यक्रम अन्तर्गत काम गर्छन् । बाहिरबाट हेर्दा यो प्राविधिक सीप सिक्ने सुवर्ण अवसरजस्तो सुनिन्छ, तर भित्र हेर्दा यो एक किसिमको सस्तो श्रम शोषणको योजनाजस्तै लाग्छ । उनीहरूलाई धेरै काम, थोरै तलब र न्यून सामाजिक सुरक्षामा राखिन्छ। यस्तो अवस्थामा नेपाली युवाको मनस्थिति बिस्तारै कुण्ठित र थकित बन्न थाल्छ ।
उनीहरूले एक प्रकारको मानसिक एक्लोपना भोगिरहेका हुन्छन् । साथीभाइ छन्, तर सबै थकित छन् । घर सम्झिँदा आँखामा आँसु आउँछ, तर फोन गर्दा मुस्कान देखाउनुपर्छ । फेसबुक, इन्स्टाग्राममा हाँसिरहेका तस्बिरहरू राखिए पनि, मनभित्र निराशाको बादल बाक्लिँदै जान्छ ।
यो व्यक्तिगत निर्णय मात्र होइन, राष्ट्रिय संरचनागत असफलताको परिणाम हो। राज्यले युवालाई गन्तव्यहीन बनायो, अनि उनीहरू स्वदेशमा भविष्य खोज्न नसकेर परदेशको कठोर वर्तमान रोज्न बाध्य भए । जापानको जीवनशैली, अनुशासन, सफाइ र प्रविधिमा आकर्षण छ, तर मानवीय सम्बन्ध, आत्मीयता र नेपालीपनको प्रशस्तै अभाव छ ।
केही समयपछि युवा सोच्न थाल्छ, ‘म पैसा त कमाइरहेछु, तर जीवन खेर जाँदैछ । म देशबाहिर छु, मसँग सबथोक छ तर देश छैन ।’ यही सोचले युवाको मनमा एक शान्त विद्रोह उठ्छ। त्यो विद्रोह सामाजिक सञ्जालमा कहिलेकाहीँ पोखिन्छ- कविता, पोस्ट, भिडियो वा केवल लामा स्टेटसहरूमा। कहिलेकाहीँ त्यो विद्रोह मौन रहन्छ र ड्युटी सकेर फर्किएपछि झ्यालबाट बाहिर हेर्दै आँखा रसाउँछन् ।
तर, सबै युवाहरू निराश छन् भन्ने पनि होइन । धेरैले जापानमा राम्रो अवसर पनि भेटेका छन् । जापानी भाषा सिकेर उच्च शिक्षा लिएका, काममा पदोन्नति पाएका, अनि आफ्नै व्यवसाय स्थापना गरेका उदाहरण पनि थुप्रै छन् । तर ती अवसरहरू सहज छैनन्, ती त सङ्घर्षको नदी तरेपछि मात्र प्राप्त हुन्छन् ।
राज्यले देशमै केही गर्न चाहने शिक्षित युवालाई रोजगारी सिर्जना गर्ने वातावरण दिनैपर्छ। विदेशमा सीप सिकेका युवाहरूलाई नेपाल फर्केर उद्योग-व्यवसायमा लगानी गर्न सहज बनाउने नीतिहरू ल्याउनुपर्छ। नत्र निकट भविष्यमै देश ‘भूत बंगला’ बन्नेछ ।
नेपाली युवाको मनस्थिति आज पनि एउटा गहिरो द्वन्द्वको बिन्दुमा उभिएको छ । उसले विकासको सपना देखेको छ, तर सधैँ देशबाहिर । विदेशले उसलाई केही दिएको छ- कमाइ, अनुशासन, जीवनको नयाँ दृष्टिकोण । तर खोसेको छ- मातृभूमिको न्यानो सम्बन्ध, मातृभाषाको मिठास, र आफ्नो देशप्रतिको भरोसा ।
यो मनस्थिति अस्थायी हो कि स्थायी ? यसको उत्तर यतिबेला नेपालले दिनुपर्नेछ । नत्र भविष्यमा नेपाली युवाको अस्तित्व केवल विदेशी भूमिमा पसिना बगाउनेमा सीमित हुनेछ । देशभित्र हुनेछन् केवल वृद्धहरू, बालबालिका र उनीहरूका नसुनिएका, अदृश्य सपनाहरू ।
देश बन्नलाई देशभित्रै युवा रहनैपर्छ, देशकै लागि काम गर्नुपर्छ । यसरी नै श्रमशक्तिको पलायन र ‘ब्रेनड्रेन’ भइरहने हो भने भोलिका दिनमा देश इतिहासमा खोज्नुपर्ने डरलाग्दो यथार्थता हामीसामु आइसकेको छ ।
‘मागेको धोतीले तेरो लाज छोपिन्न, सापटको रोटीले मेरो पेट भरिन्न…’
बेलैमा चेतना भया !
जय देश! जय मातृभूमि !
- टोकियो, जापान








