टोकियो – जापान सरकारले नेपालीलगायत तीन देशका नागरिकलाई क्षयरोग परीक्षण अनिवार्य गर्ने भएको छ । मुलुकको सार्वजनिक स्वास्थ्य सुरक्षालाई थप सुदृढ पार्ने उद्देश्यले नेपाल, फिलिपिन्स र भियतनामका नागरिकहरूका लागि जापान प्रवेश गर्नुअघि क्षयरोग (टीबी) परीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो ।
यो नयाँ नियम आगामी सन् २०२५ जुन २३ तारिखदेखि औपचारिक रूपमा लागू हुनेछ । यो व्यवस्थाअनुसार, अब जापानमा मध्यम वा दीर्घकालीन अवधिका लागि भिसा आवेदन गर्ने नेपाली नागरिकहरूले आफ्नो देशमै जापान सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट छातीको एक्स-रे परीक्षण गराई आफू क्षयरोगमुक्त भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । उक्त प्रमाणपत्र जारी भएको मितिबाट ६ महिना (१८० दिन) सम्म मान्य रहनेछ ।
को-को हुनेछन् प्रभावित ?
यो नयाँ नियम विशेषतः विद्यार्थी भिसा, विभिन्न श्रेणीका प्रवासी श्रमिक भिसा, र पछिल्लो समय चर्चामा रहेको डिजिटल नोमाड भिसाका लागि आवेदन दिने व्यक्तिहरूमाथि लागू हुनेछ । जापान सरकारले यस निर्णयको पछाडि यी मुलुकहरूबाट जापान आउने व्यक्तिहरूमा हालैका वर्षहरूमा क्षयरोग संक्रमितको संख्यामा वृद्धि देखिएको तथ्यलाई प्रमुख कारणको रूपमा उल्लेख गरेको छ ।
केही चिन्ताजनक तथ्याङ्क:-
- सन् २०२२ मा जापानमा ३,२८६ जना विदेशी नागरिकहरूमा क्षयरोग पहिचान भएको थियो, जुन जापानमा भेटिएका कुल क्षयरोग संक्रमितको ११% हो ।
- तीमध्ये पनि ३०% भन्दा बढी संक्रमितहरू नेपाल, भियतनाम र फिलिपिन्सबाट आएका नागरिकहरू थिए ।
- विश्व स्वास्थ्य संगठन (WHO) को सन् २०२३ को प्रतिवेदन अनुसार, नेपालमा प्रति १ लाख जनसंख्यामा अनुमानित २४५ जना क्षयरोग संक्रमित रहेका छन्। यो आँकडा जापानको औसत (प्रति १ लाखमा १० जना) को तुलनामा निकै उच्च हो ।
परीक्षण कहाँ र कसरी गराउने ?
क्षयरोग परीक्षण जापान सरकारद्वारा तोकिएका र मान्यता प्रदान गरिएका स्वास्थ्य संस्थाहरूबाट मात्र गराउनुपर्नेछ । जारी गरिने स्वास्थ्य प्रमाणपत्रमा आवेदकको नाम, जन्म मिति, परीक्षण गरिएको मिति, परीक्षणको विधि (जस्तै: एक्स-रे), र परीक्षण गर्ने चिकित्सकको स्पष्ट हस्ताक्षर तथा सम्बन्धित स्वास्थ्य संस्थाको छाप अनिवार्य रूपमा हुनुपर्नेछ ।








