काठमाडौं – सरकारी पदमा बसेर करोडौं रुपैयाँको अवैध सम्पत्ति आर्जन गर्ने प्रचलन फेरि एकपटक उदाङ्गिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणअन्तर्गत वाग्मती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादवले आम्दानीका स्रोतभन्दा धेरै गुणा बढी खर्च गर्दै आएको पाइएको आयोगको दाबी छ। २०६३ साल भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको अवधिमा उनले आर्जन गरेको सम्पत्तिको गहिरो अध्ययन गर्दा वैध आम्दानी २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ मात्र देखिएको थियो । तर यही अवधि भित्र यादवको कुल खर्च ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ पुगेको देखिएको छ । ३ करोडभन्दा बढीको अवैध रकमको स्रोत नखुलेपछि अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मात्र यत्ति होइन, यादवले आर्जन गरेको अवैध सम्पत्ति आफ्नै श्रीमती अमृता कुमारी यादवको नाममा लुकाएको प्रमाणसमेत अख्तियारले पेस गरेको छ । त्यसैले सम्पत्ति जफत गर्न सहज होस् भनेर अमृता कुमारीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।