टोकियो – नेपाली समुदायको वित्तीय सुरक्षालाई मध्यनजर गर्दै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानबाट पनि आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । अब जापानमा रहेका नेपालीहरूले समेत उक्त बीमा कम्पनीको सेवा लिन सक्नेछन् । जापानको टोकियोस्थित सिन्जुकु-कु क्षेत्रमा रहेको जी एण्ड के कम्पनीसँगको सहकार्यमा सेवा सुरु गर्न लागिएको हो ।
बीमा क्षेत्रमा नयाँ आयाम थप्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जापानमा कार्यरत तथा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाका लागि बीमा सेवा उपलब्ध गराउने भएको छ । धेरै नेपालीहरू विदेशमा काम गर्दै नेपालमा परिवारलाई आर्थिक रूपमा सहयोग गरिरहेका छन् । प्रवासमा कमाएको रकम सही तरिकाले सुरक्षित राख्न तथा भविष्यमा आकस्मिक अवस्थामा सहयोग मिलोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ ।
नेपालबाट टाढा रहेर पनि आफ्नो कमाइ सुरक्षित राख्न चाहने नेपालीहरूको लागि यो योजना लाभदायक बन्ने विश्वास कम्पनीको छ । बीमा योजनाले विशेष गरी जापानमा कार्यरत नेपालीहरूलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपत्कालीन अवस्थाहरूमा आर्थिक सुरक्षाको ग्यारेन्टी दिनेछ । यसबाहेक, दीर्घकालीन योजनाहरू जस्तै बुढेसकालको सुरक्षित जीवनयापनका लागि समेत यो योजना लाभदायक हुने बताइएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेवा औपचारिक रूपमा यही मार्च २९ तारिख शनिबारका दिन टोकियोमा एक विशेष कार्यक्रममार्फत सुचारु गरिने भएको छ । कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका अगुवा, व्यावसायिक प्रतिनिधिहरू, बीमा क्षेत्रका विज्ञहरू तथा सम्बन्धित व्यक्तिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।