टोकियो – निसान मोटर कम्पनीले मंगलबार प्रमुख योजना अधिकृत (सीपीओ) इभान एस्पिनोसालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ । उनी मकोटो उचिदाको स्थान लिँदैछन् । होंडा मोटरसँगको विलय वार्ता असफल भएपछि कमजोर अवस्थाबाट गुज्रिरहेको कम्पनीले नयाँ नेतृत्वमार्फत व्यवसाय पुनरुत्थान गर्ने लक्ष्य राखेको छ ।
एस्पिनोसा, जो प्रायः निसानमा उत्पादन योजना सम्बन्धी काम गर्दै आएका छन्, आगामी अप्रिल १ देखि नयाँ सीईओको जिम्मेवारी सम्हाल्नेछन् । उचिदा भने कम्पनीको जुन महिनामा हुने शेयरधारक बैठकसम्म निर्देशकका रूपमा रहनेछन् ।
निसानका अनुसार एस्पिनोसा सन् २००३ मा मेक्सिकोस्थित निसानमा उत्पादन विशेषज्ञको रूपमा प्रवेश गरेका थिए । त्यसअघि उनी अटोमोबाइल अनुसन्धान कम्पनीमा कार्यरत थि ए। हाल निसानको व्यापारिक प्रदर्शन तीव्र रूपमा कमजोर भएको छ, जसको मुख्य कारण अमेरिकी र चिनियाँ बजारमा कम बिक्री भएको हो ।
उचिदामाथि आलोचना बढ्दै गएको छ, विशेष गरी निसानको मुनाफा गएको डिसेम्बरसम्मका नौ महिनामा ९० प्रतिशतभन्दा बढी घटेपछि । कम्पनीले हालै होंडासँगको विलय वार्ता अन्त्य गरेको छ, जसले गर्दा विश्वको तेस्रो ठूलो अटोमोबाइल समूह बन्ने योजना विफल भएको हो ।samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.