काठमाडौं – कम भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सक्ने भएपछि भैरहवा चलायमान देखिएको छ । माघ १० देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि चलायमान देखिएको हो ।
जसअनुसार फेब्रुअरीमा मात्रै ६ हजार ७९ जनाले भैरहवाबाट आवातजावत गरेका छन् । सबैभन्दा बढी जजिरा एयरवेजले यात्रु ओसारेको छ । फ्रेबवरीमा जजिराले ३२६५ यात्रु भैरहवा विमानस्थल अवतरण गरेका थिए । दोस्रोमा फ्लाई दुवई रहेको छ । उक्त महिनामा फ्लाई दुवईले २४०३ यात्रु ओसारपसार गरेको थियो ।
तेस्रोमा थाई एयर एशिया रहेको छ । फेब्रुअरीमा थाई एयर एशियाले १०९७ यात्रु ओसारपसार गरेको छ । गत एक महिनामा १३ वटा चार्टर्ड उडान समेत भएका थिए र उक्त चार्टर्ड उडानमा २११ यात्रु आएका थिए ।
नेपाल एयरलायन्सबाट भने जम्मा एक यात्रु आएको तथ्यांक विमानस्थल कार्यालयको छ । भैरहवा–काठमाडौं ट्रान्जिट गर्ने गरेको फ्लाई दुवई र नेपाल एयरलायन्समा चार हजार ४० यात्रु थिए । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्रेब्रुअरीको तथ्यांक हालसम्मकै उच्च हो ।
सन् २०२४ को नोभेम्बरबाट उडान सुरू भएको भैरहवा विमानस्थलमा पहिलो महिना चार हजार २७९ आएका थिए । यस्तै डिसेम्बर २०२४ मा तीनहजार ८७८ यात्रु आए । २०२५ को पहिलो महिना सो संख्या घटेर एक हजार ३६५ मा झरेको थियो ।
मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले भैरहवा र पोखरा विमानस्थल सञ्चालनको लागि विभिन्न २३ वटा कार्ययोजना ल्याएको थियो । नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनामा भिषा सेन्टर स्थापना, स्वास्थ्य परीक्षण, भ्याट फिर्तालगायतका कुराहरू कार्यान्वयन भएको छैन ।