काठमाडाैं – यूकेमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् ।
महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन् । सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो ।
नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ । मङ्गलवार आफ्नो बिदाइ भाषणमा जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए ।
त्यसपछि उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए ।








