काठमाडौं – एअर फ्रान्सको एउटा विमानभित्र हात हालाहाल गरेपछि दुई विमानचालकलाई निलम्बन गरिएको विवरण प्रकाशित भएको छ । जिनिभाबाट फ्रान्सको राजधानी प्यारिसका लागि उडेको एउटा एअरबस ए३२० का चालक र सहचालकले ककपिटभित्र मुक्का हानाहान गरेको स्विट्जरल्यान्डको ला ट्रिबुन पत्रिकाले जनाएको छ ।
उक्त घटना जुन महिनामा भएको थियो । ककपिटभित्रबाट हल्ला आएपछि चालकदलका अन्य सदस्यहरूले हस्तक्षेप गरेका थिए । विमान सुरक्षित रूपमा अवतरण गरुन्जेलसम्म चालकदलका अर्का एक सदस्य पनि ककपिटभित्रै बसेका थिए । एअर फ्रान्सको उक्त घटनाले उडान प्रभावित भएको दाबी ला ट्रिबुनसँग गरेको छ ।
गत साता फ्रान्सको उड्डयन क्षेत्रबारे अनुसन्धान गर्ने निकायले एअर फ्रान्समा सुरक्षाविधिबारे बलियो प्रचलन नभएको भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि बल्ल जुन महिनाको उक्त घटना सार्वजनिक भएको हो । विमानभित्र चालकहरूबीच विवाद उत्पन्न हुँदा हात हालाहाल भएको घटना यसअघि पनि आक्कलझुक्कल सार्वजनिक भएको थियो ।
सन् २०१८ को नववर्षको दिन लन्डनबाट मुम्बईका लागि उडेको जेट एअरवेजको विमानमा पनि त्यस्तै घटना भएको थियो । जेट एअरवेजले ती दुवै विमानचालकलाई सेवाबाट निष्काशन गरेको थियो । ती दुईमध्ये एक महिला र एक पुरुष थिए । उक्त विमानमा ३२४ यात्रु थिए। विमानले सकुशल मुम्बईमा अवतरण गरेको थियो ।
एक प्रत्यक्षदर्शीका अनुसार पुरुष विमानचालकले पहिला महिला सहकर्मीलाई थप्पड हानेका थिए। त्यसपछि रुँदै महिला विमानचालक ककपिटबाट बाहिर निस्किएकी थिइन् । तर चालकदलका अन्य सदस्यले उनलाई ककपिटमा गएर उडानसम्बन्धी काम गर्न फकाएका थिए ।
सुरक्षासम्बन्धी नियम उल्लङ्घन गर्दै ती पुरुष विमानचालक दुईचोटि ककपिट खाली राखेर बाहिर निस्किएको भारतीय नागरिक उड्डयन निर्देशनालयका एक अधिकारीले बताएका थिए । -बीबीसी








