Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

वैदेशिक रोजगारीको आकर्षक गन्तब्य मानिने जापानमा हाल करीव लाखको हाराहारीमा नेपालीहरु छन् । यति ठूलो नेपालीको जमातले अपवादलाई छोडेर जापानमा आकर्षक कमाई गरिरहेका छन् । न्यूनतम पनि मासिक लाख-डेढ लाख रुपैंयाँ कमाउने नेपालीको संख्या यहाँ ठूलो छ । परिवारमा दुई वा सो भन्दा बढि सदस्य हुनेहरुको संख्या पनि उत्तिकै छ । तर जापानका नेपालीहरुको कमाईलाई उद्यमशिलता तर्फ आकर्षित गर्ने हामीकहाँ कुनै योजना, कार्यक्रम वा सोचको बिकास हुन सकेन । वर्षौ लगाएर मुश्किलले आर्जित कमाईको ठूलो हिस्सा सहर-बजारतिर घर, घडेरी जस्ता अनुत्पादनशील क्षेत्रमा लगानी भईरहेको देखिन्छ । यथेष्ट जानकारीको अभाव र सो अनुकुलको वातावरण नहुँदा जोखिमरहित र सुरक्षित लगानीका हिसाबले धेरैको ध्यान घर, घडेरी जोड्नमै केन्द्रीत देखिन्छ । जापानमा सिकेको सीप, जानेको, भोगेको अनुभव र आर्जित कमाईलाई उद्यमशिलता तर्फ प्रोत्साहित गर्ने सेमिनार, गोष्ठी वा प्रशिक्षण जस्ता कार्यक्रम बेला बेलामा हुन सके स्वदेशमै रोजगारी सिर्जना हुन सक्ने उत्पादनमुलक क्षेत्रमा थप लगानी भित्रन सक्ने देखिन्छ ।

नेपाली राजदूतावास, एनआरएन, ब्यवसायी संघ, मिडिया क्षेत्र लगायत यहाँका अन्य जिम्मेवार अगुवा संघसंस्थाहरुले ब्यवसायिक चेतनामुलक कार्यक्रमहरु गरिनु आवश्यक छ । साना-साना पूँजी एकत्रित गरी आ-आफ्नो गाउँठाउँमा साना तथा मझौला आकारका परियोजना सञ्चालन गर्न सके सयौंलाई रोजगारी सिर्जना हुनुका साथै स्वदेशमै धमाधम आय आर्जनका स्रोतहरु बन्न सक्दछन् । गाउँ गाउँमा क्रियाशील आमासमूह, युवा क्लव, बेरोजगारी तथा अर्धबेरोजगारी युवा जमातलाई यस्ता माइक्रो प्रोजेक्टमा सहभागी बनाई भरपर्दो र विश्वासिलो आधार तयार गर्न सकिन्छ । विदेशमा भएका आफ्ना नागरिकलाई राज्यले पनि स्वदेशमा पूँजी भित्र्याउन र उत्पादनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित हुने खालका ग्यारेन्टी सहितको आकर्षक नीति अवलम्बन गर्न जरुरी छ । यस्ता गहन बिषयहरुमा छलफल र बहस गर्दै अगाडि बढ्न जापानको नेपाली समुदायमा ढिला भईसकेको छ ।

उसो त जापानमा पनि सानो पूँजी जम्मा हुँदा साथ औसत नेपालीहरुको ब्यवसाय नान-करी रेष्टुरेन्ट, हलाल फुडभन्दा माथि उठ्न सकेको छैन । यसो हुनुको मुख्य कारण बारे सोच्न र घोत्लिन हामी कसैलाई कहिलै फुर्सद छैन । हामीले अलिकति फरक ब्यवसाय अंगाल्ने हिम्मत गर्न सकिरहेका छैनौं । अलिकति भिन्न समुदायबाट पनि सिक्ने चेष्टा मात्र गर्न सके चिनियाँ, भियतनामी, कोरियन, मंगोलियन, फिलिपिन्सका नागरिकहरुले जापानमा गर्दै आईरहेका ब्यवसायिक मोडेलहरुबाट पनि धेरै सिक्न सकिन्छ । सँधै मःम नै खाने बानी परेका ग्राहकले घण्टौ मेन्यू हेरे पनि अन्तिममा मःम नै अर्डर गरेजस्तै जापान जस्तो देशमा उच्चशिक्षा हासिल गरेर कुनै एक बिषयमा अतिरिक्त विज्ञता हासिल गरेता पनि आखिरमा औसत नेपालीले नै गर्दै आएको नान करी रेष्टुरेन्ट वा उस्तै उस्तै प्रकृतिको ब्यवसाय अंगाल्नेहरुको संख्या पनि यहाँ बढ्दो छ । ब्यवसायिक धार परिवर्तन गर्न ल्याकत राख्ने र नयाँ पुस्तालाई दिशा निर्देश गर्न सक्षम यो जमातको विज्ञताप्रति समाजले सोहीअनुरुपको अपेक्षा गर्नु स्वभाविकै पनि हो ।

ब्यवसायिक हिसाबले कुनै समय निकै चरमोत्कर्षमा पुगेको नेपाली इण्डियन रेष्टुरेन्ट ब्यवसाय अब आवश्यकताभन्दा बढि भईसकेको र स्वाद एवं गुणस्तरियताको आधारभुत मापदण्डको कुनै मापन एवं एकरुपता नहुँदा जापानीहरुको बिस्तारै मोह भंग हुन थालेको पाईन्छ । त्यसकारण पनि अब नेपालीहरुले ब्यवसायिक धार परिवर्तन गर्ने बेला आईसकेको छ । देखासिकीको बिजनेश केही समय बिकाउ भएता पनि लामो समय टिकाउ नहुने अध्ययनहरुबाट पुष्टि भईसकेका छन् । ब्यवसायिक घरानियाँहरुले लामो समय र ठूलो धनराशी खर्चेर आफ्नै ब्राण्ड बनाउनुको पछाडि यहि कारण लुकेको पाईन्छ ।

जापानका नेपालीहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्न र उद्यमशिलता तर्फ डोर्‍याउन अति आवश्यक छ । विदेशमा नेपालीहरु धेरैजसो अस्थायी रोजगारीमा संलग्न छन् । उनीहरुको पेन्सन नहुने हुँदा आर्थिक भविष्य सुरक्षित नहुन सक्छ । भोलिको दिनमा बृद्ध, अशक्त वा दीर्घरोगी हुँदाको बखतको स्थिति अहिलै कल्पना मात्रै गर्दा न्यूनतम भए पनि स्थायी आयआर्जन हुने स्रोतको जोहो आजैबाट गर्नुपर्दछ । त्यो भनेको स्वदेशमै उत्पादनशील क्षेत्रमा सुरक्षित लगानी हो । औसत नेपालीलाई यो बिषयले सजिलै ध्यानाकर्षित गर्न नसक्ला तथापि समाजका जिम्मेवार अगुवाहरुले यस्ता बिषयमा निरन्तर पैरबी गर्न भने आवश्यक छ ।***

तपाईको प्रतिक्रिया