आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा, आजको दिनसम्म आईपुग्नका लागि महत्वपूर्ण योगदान पुर्याउने अन्तर्राष्ट्रिय क्षेत्रका ति महान आन्दोलनकारी योद्धा महिलाहरुलाई स्मरण गर्न चाहान्छौं । जुन आज भन्दा १०९ वर्ष पहिले अमेरिकाको शिकागो सहरवाट १५ हजार महिलाहरुले मतदान गर्न पाउने अधिकार, समान ज्याला र समानताको माग गर्दै आन्दोलनमा होमिएका थिए । सन् १९०९ मा न्यूयोर्कका महिलाहरुले यसलाई निरन्तरता दिदैं अन्तर्राष्ट्रिय समानताकै माग दोहोर्याएका थिए भने सन् १९१० मा जर्मनका महिलाहरुले यसलाई समर्थन एवं ऐक्यबद्धता जाहेर गर्दै अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाईनुपर्ने जोडदार मागसहित क्लासा जेट्किनले प्रस्ताव राखेकी थिईन् । जुन प्रस्ताव सन् १९११ मा गएर पहिलोचोटी पारित गरिएको थियो । जसलाई अष्ट्रेलिया, डेनमार्क, जर्मनी, स्वीजरल्याण्ड, जापान, रसिया लगायतका धेरै देशका करौडौं महिलाहरुले समर्थन गरेका थिए । त्यसैगरी सन् १९१४ मार्च ८ तारिखका दिन जर्मनीका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवसको आयोजना गरी महिला समानता र मताधिकारको माग गरेका थिए र अन्ततः अधिकार प्राप्त गरेका थिए ।
यसरी सुरु भएको अन्तर्राष्ट्रिय महिला दिवसमार्फत महिलाहरुको हक, अधिकार सुनिश्चित गर्ने आन्दोलनबाट महिलाहरुले केहि अधिकार प्राप्त गरे पनि विश्वमा नै महिलाहरुको पहुँच त्यति देख्न सकिदैंन चाहे त्यो अमेरिका होस् वा जापान, अझै पनि केही असमानता र विभेदहरु देख्न सकिन्छ । तर पनि एक्काईसौं शताब्दिसम्म आईपुग्दा विश्वले धेरै फड्को मारिसकेकोले कानूनी, शैक्षिक, सामाजिक, लैंगिक हिसाबले हेर्ने दृष्टिकोणमा भने केही परिबर्तन देख्न सकिन्छ ।
तर हाम्रो देश नेपालमा यस्ता धेरै असमानता, विभेद र जटिलताहरु छन् । अझै पनि छाउपडी प्रथा, कुमारी प्रथा, झुमा प्रथा, बोक्सी आरोप, बलात्कार, चेलीबेटी बेचबिखन, हत्या जस्ता प्रथाहरु उखेल्नै नसकिने गरी जरा गाडेर बसेको पाईन्छ । यि र यस्ता सँस्कारको नाममा होस् या प्रथाकोरुपमा या धर्मको नाममा, यस्ता कुसँस्कार र कुप्रथाको कुनै न कुनैरुपमा नेपाली चेलीहरु शिकार हुनुपरेको अवस्था यद्यपि विद्यमान छ ।
महिला र पुरुषमा देखिने असमानता, शोषण, दमन, महिला हिंसा, बेचबिखन जस्ता कारणबाट आजको एक्काइसौं शताब्दिमा पनि अझै नेपाली महिलाहरु नारकीय जीवन बिताउन बाध्य छन् । प्रशासकीयरुपमा भएका केहि परिवर्तनहरुका कारण महिलाहरुमा केही चेतनाको स्तर बृद्धि भएको भएता पनि यसैलाई सन्तोष मान्न सकिने अवस्था भने छैन । हरेक महिलाहरुमा सामाजिक, साँस्कृतिक, कानूनी र शैक्षिकरुपले समान हैसियत एवं पहुँच हुनु आवश्यक छ । महिला स्वतन्त्रताको अधिकार प्राप्तीका लागि एकातिर कानूनीरुपमा अधिकार सम्पन्न हुन आवश्यक छ भने अर्कोतर्फ कानूनलाई पूर्णरुपमा लागू गर्न र गराउन आवश्यक छ । सँस्कार, सँस्कृति र प्रथाको नाममा हुने अमानवीय, लैंगिक असर घर-घरबाट निर्मुल गराउन आवश्यक छ । समाजमा विद्यमान यस्ता अनेकौ महिला हिंसाले घर, समाज अनि सिंगो राष्ट्रलाई असर पुर्याएको हुन्छ भने यस्ता मुद्दाले गर्दा अन्तर्राष्ट्रियरुपमा हेर्ने दृष्टिकोणमा प्रभाव पारेको हुन्छ । त्यसैले त्यस्ता कूरीतिहरु निर्मूल पारिनुपर्दछ ।
अन्तर्राष्ट्रियरुपमा महिलाहरुले उठाउँदै आएका हरेक जायज मागहरुमा ऐक्यबद्धता जनाउँदै हाम्रो अधिकार प्राप्तीको लडाई र हाम्रो बहस तबसम्म निरन्तर जारी रहनुपर्दछ, जबसम्म पूर्ण हुँदैन । अन्तमा, १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अधिकार प्राप्तीको आन्दोलनमा अनवरत होमिनुभएका संसारभरिका समस्त महिलाहरुमा हार्दिक शुभकामना ।
(लेखिका मिरा जापान नेपाली एकता समाज केन्द्रीय समिति, महिला विभागकी संयोजिका हुन्)








