काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो । नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।
प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५-७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४-७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो ।








