काठमाडाैं – झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया किशोरी एलिसा गदाल गत बैशाख २ गते बुधबारे बजार जान्छु भनेर घरबाट निस्किएकी थिइन् । तर, डेढ महिना बित्यो घर फर्किएकी छैनन् । आमा भीममाया र बुबा हेमबहादुर छोरी फर्किने आशामा सधैँ बाटो हेरिरहन्छन् ।
छोरीको चिन्ताले आमा बुबाको न दिनमा भोक छ न रातमा निद्रा नै । ‘छोरी टुप्लुक्क आइपुग्छे कि जस्तो लाग्छ’, आमा भीममायाले आशु चुहाइन्, ‘सानै थिइ, कसले कहाँ पुर्यायो होला, के गर्दै होला ।’ एलिसाको अनुहारमा दुवी निस्किएको थियो । त्यही दुवीको औषधि गर्न भनी उनी बुधबारे गएकी थिइन् । उनको साथमा दुई सय रुपैयाँ मात्रै थियो । बुधबारे बजार हिँडेकी एलिसालाई एक जना छिमेकीले पानी ट्यांकी तिर जान रिक्सा चढ्दै गरेको देखेका थिए । भीममायाले भनिन्, ‘छोरी पानी ट्यांकीतिर जाँदै गरेको छिमेकीले देखेका थिए । तर, त्यसपछि कहाँ गइ थाहा छैन ।’
एलिसा यसअघि घरबाट कहि कतै गएकी थिइनन् । बाटो पो बिराइन कि भन्ने आशंका पनि अभिभावकलाई छ । तर, पछिल्लो समय एलिसा छिमेकी अलिजा लोहारसंगको निरन्तर सम्पर्कमा रहेकी थिइन् । उनीहरुबीचको मित्रता निक्कै घनिष्ट नै थियो । त्यही कारण परिवारले अलिजाकै मिलेमतोमा छोरी बेपत्ता पारिएको भन्दै इलाका प्रहरी कार्यालय बुधबारेमा किटानी जाहेरी पनि दिइएको छ ।
प्रहरीले अलिजालाई अनुसन्धानको घेरामा राखेको जनाएको छ । प्रहरी नायव निरीक्षक पदम सुन्दर लिम्बुका अनुसार पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा अलिजालाई अनुसन्धानको घेरामा राखिएको बताउनुभयो । ‘अलिजाको फोनको कल डिटियल मगाएका छौ’, लिबुले भन्नुभयो, ‘कल डिटियल आएपछि थप अनुसन्धान शुरु गर्छौ ।’








