Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

Banner Okbhumika Jee 1म गायिका भूमिका शाह । साँगीतिक क्षेत्रमा लागेर आफ्नो चिनारी स्थापित गर्दै देशलाई केही दिन सकौं भन्ने उद्देश्यले सुगम जिल्ला चितवनको दुर्गम क्षेत्र मादीबाट राजधानी काठमाडौं झरेर एक दशकदेखि संघर्षरत छु । साँगीतिक कार्यक्रमका सिलसिलामा नेपालका ६५ भन्दा बढि जिल्ला घुमेकी छु । अनाथहरुको सेवामा समर्पित उज्यालो नेपाल भन्ने संस्था मार्फत समाज सेवामा पनि जोडिएकी छु भने कराँते, धाविका लगायत एथलेटिक्सको पूर्व खेलाडि पनि हुँ ।

Bhumika Sम सानै उमेरदेखि गीत संगीतलाई असाध्यै मन पराउँथे । सानोछँदा अहिलेको जस्तो टेलिभिजन र प्रशस्त रेडियो एफएमहरु थिएनन् । यद्यपि हरिदेवी कोइराला, बिमाकुमारी दुरा, नारायण रायमाझी जस्ता अग्रज स्रष्टाहरुको सिर्जनाबाट प्रभावित हुन्थे । यसका साथै मेरो बुवा असाध्यै राम्रो दोहोरी गाउनुहुन्थ्यो उहाँबाट पनि मलाई गायन क्षेत्रमा लाग्न प्रेरणा मिलेको हो । स्कुले जीवन देखि नै मैले गाउन थालेकी हुँ । स्कुलमा गाउनेक्रममा म सँधै पहिलो हुने गर्दथे । यसरी नै साँगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको हो र आजको दिनसम्म आएकी हुँ ।
अहिलेसम्मका मेरा सिर्जनाहरुमा २०५७ सालमा ‘जाल बुनेर’, २०६२ सालमा ‘नेपाली लोकतारा’ मा छनौट,   २०६५ सालमा ‘हेरि रमाईलो’ एकल एल्बम, त्यसपछि ‘पठाउने छु पत्र लेखेर’, ‘जोबानको धनि’, ‘खाइए बूढा’ लगायतका युगल तथा एकल एल्बमहरु बजारमा आईसकेका छन् भने हालैमा मात्र गत बैशाखमा गएको महाभूकम्पका कारण क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माण गर्नका लागि अब रोएर, शोकाएर हैन सबै जुटेर लागौं भन्ने सन्देश बोकेको ‘भौतिक संरचनाहरु उठाउन जाऊँ’ भन्ने बोलको पछिल्लो एल्बम गायक खुमन अधिकारीसंग गाएकी छु । अब छिट्टै पप गायनतर्फ पनि प्रवेश गर्दैछु ।

हु न त म लोकदोहोरीबाटै बढि प्रभावित भएर नै यो क्षेत्रमा लागेकी हुँ, तर कलाकार भैसकेपछि स्टेज कार्यक्रमहरुमा हरेक खालका गीतहरु पनि गाउनुपर्ने भएकोले म लोकगीतका साथै आधुनिक गीत र पपगीत पनि गाउँछु । मैले गीत आफै लेख्छु र कम्पोज पनि आफै गर्छु । दोहोरी, आधुनिक र पपगीतका आ-आफ्नै मजा र बिशेषता छन् ।

Bhumikaसस्तो लोकप्रियताका लागि अचेल गुणात्मक भन्दा संख्यात्मकरुपमा सिर्जनाहरु बजारमा आउने गरेका छन् । यस्ता सिर्जनाहरुले स्रष्टालाई धेरै लामो समयसम्म टिकाउन सक्दैनन् । त्यसैले स्तरिय सिर्जना दिन सक्ने हो भने मात्र सर्जकहरु बजारमा टिक्न सक्ने हो । स्तरिय सिर्जना भनेको मनोरञ्जनका साथै आकर्षक शब्द-संयोजनमा सन्देशमुलक भाव बोकेको हुनुपर्छ भन्ने मलाई लाग्छ ।
जहाँसम्म गीत र संगीतमा माया प्रीतिका कुराले मात्र स्थान पाउँछन् भन्ने टीप्पणी गरिन्छ, मायाप्रीति आफैमा नराम्रो होइन, माया बिना यो संसार चल्नै सक्दैन । बाबुआमाले गर्ने माया, दाजुभाइ, दिदीबहिनीबिचको माया, साथीसंगीले गर्ने माया, शिक्षकले विद्यार्थीलाई गर्ने माया सबै माया हुन् तर गीत र संगीतले मायापीरतिका साथै बिकास र उन्नति प्रगतिका कुरा, समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने कुराका साथै समाजका बिकृति, बिसंगतिलाई खबरदारी गर्ने खालका सन्देश पनि गीतमा अटेको हुनुपर्दछ । तर माया प्रीतिको नाममा सपरिवार संगै बसेर सुन्न र हेर्न नसकिने हदको हुनुहुँदैन भन्ने मेरो मान्यता छ ।

अहिले बजारमा एल्बम चल्दैनन् । कलाकारहरुको प्रमुख आयस्रोत भनेको धेरैको दोहोरीमा गाउने हो । त्यसबाहेक स्टेज कार्यक्रम, मेलामहोत्सव र बिदेशका कार्यक्रमहरु नै आम्दानीका प्रमुख आयस्रोत हुन् । चल्ताफुर्ता र बाहिरतिर नेटवर्क राम्रो भएका कलाकारहरु सजिलै बिदेश गईरहन्छन र आर्थिक हिसाबले पनि छिट्टै प्रगति गर्न सकेका छन् भने कतिपय कलाकारहरु जतिसुकै राम्रो प्रतिभा भए पनि सम्पर्क सूत्रको अभावमा त्यस्ता अवसर पाउन नसकेकाहरु पनि धेरै नै छन् ।

एउटा गीत तयार गर्न ३५, ४० हजार रुपैंया खर्च हुन्छ त्यसलाई भिजुयल गर्न अर्को डेढ, दुई लाख खर्च हुन्छ । यति खर्च गरेर तयार पारेको सिर्जनालाई मिडियामा पेल्न सकेन भने जतिसुकै राम्रो भए पनि त्यो गीत हिट हुनैसक्दैन । मिडियामा १ मिनेट प्रोमो बजाउन पर्‍यो भने ५० हजार भन्दा बढि रुपैंया खर्च हुन्छ । एउटा मिडियामा मात्र बजाएर भएन, अरु २, ४ वटामा बजाउन पर्‍यो भने अर्को ३,४ लाख रुपैंया खर्च हुन्छ । यति धेरै खर्च गर्न सक्ने हैसियत भएका कलाकारहरु नेपालमा धेरै कम छन् । यसरी पैसा खर्च गरेर बिज्ञापन गर्न नसक्ने कलाकारहरुको गीत हिट हुने कुरै भएन अनि फलानो कलाकार त चलेन भनेर जबर्जस्ती असफलताको पगरी गुथाईने गरिन्छ । यो नै हामी कलाकारहरुले भोग्नुपरेको अहिलेको तीतो यथार्थ हो । त्यसकारण मिडियाकर्मीहरुले पनि राम्रो सिर्जनालाई बिनापूर्वाग्रह स्थान दिन जरुरी छ । नत्र पैसाको बलमा नराम्रो सिर्जनाले मात्र बजार पाउने र राम्रो भएर पनि बिज्ञापन गर्न नसक्नेहरु पछि पर्नुपर्ने स्थिति रहीरहन्छ । बिद्यमान अवस्थामा सुधार आउनुपर्दछ भन्ने लाग्छ ।

bhumika Jeeकलाकारहरु बजारमा टिक्न र बिक्नका लागि अहिले अनेकौ हथकण्डा रचिन्छन् । अनावश्यक शर्त र सम्झौताका कुराहरु गरिन्छन् । यसप्रकारका प्रवृत्तिलाई चिर्न जरुरी छ । अझ भन्नुपर्दा महिला कलाकारहरुप्रति हाम्रो समाजले हेर्ने दृष्टिकोण अझै संकुचित छ । यसप्रकारको मानसिकतामा परिवर्तन आउन जरुरी छ । यसका लागि कलाकारहरुले नै बुझाउन सक्नुपर्दछ । सस्तो लोकप्रियताका लागि जे पनि गर्न तयार हुने एकाध कलाकारहरुका कारण सिंगो कलाकारिता जगत नै दुघन्धित हुन दिनुहुँदैन ।
कलाकारिताको नशा लागेपछि छोड्नै नसकिने रहेछ । जस्तोसुकै अभाव, भोक, तिर्खा र पीडामा पनि यो क्षेत्रबाट टाढा हुन सकिएन । गायन क्षेत्रबाट हुने आम्दानीको केही हिस्साबाट अनाथ, अपांग, असहाय ब्यक्तिहरुलाई परोपकार गरेर सामाजिक कार्य गर्न सकूँ । गीत र संगीतका माध्यमबाट रोएका नेपाली मनहरुलाई पनि हसाउँन सकूँ, यति गर्न सके भने आत्मसन्तुष्टि मिल्ने छ, मेरो भावी योजना यहि छ ।
अन्त्यमा, जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु बिदेशमा हुनुहुन्छ, उहाँहरुलाई म के भन्न चाहान्छु भने जो जहाँ जसरी बस्नुभएको छ, नेपाली गीत संगीतलाई माया गरिरहनुभएको छ, यसरी नै माया गर्दै जानुहोला । नेपाली कला, सँस्कृति, गीत, संगीत र समग्रमा नेपालीपन र आफ्नो पहिचानलाई भुल्न नदिई जिवन्त राख्ने वातावरणको सिर्जना गर्नुहोला । राम्रा सिर्जना र सर्जकलाई प्रोत्साहित गरिदिनुहोला । म एक गायिका र यहाँहरुकै चेली भएको नाताले यहाँहरुको अमूल्य सुझाव र सल्लाहको पनि अपेक्षा गरेको छु । यहाँहरुको बैदेशिक जीवन सुखद र उपलब्धिमुलक होस् भन्ने शुभकामना दिन चाहान्छु ।

(गायिका शाहसंग भएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया