गंगा बीसी
काठमाडौ- माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टर्राई नेतृत्वको सरकार बदले आफूलाई ‘पाप लाग्ने’ भन्दै यसैलाई राष्ट्रिय स्वरूपको सरकार बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार संस्थापन पक्षको भेलामा पोलिटब्युरो सदस्यहरूले मुख्य नेतृत्वले सरकार परिवर्तन गर्न लागेको प्रश्न उठाएपछि उनले त्यो हल्लामात्रै भएको दाबी गरेका हुन् ।
‘बाबुरामजीको नेतृत्वको सरकार फेरे मलाई पाप लाग्छ,’ दाहाललाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘हिजोआज किरणजीहरूले पनि सरकार फेर्ने कुरा कम गर्न थाल्नुभएको छ ।’ भेलामा सहभागी भट्टर्राई पक्षका पोलिटब्युरो सदस्यहरूले अध्यक्षलाई सरकार फेर्ने चर्चा चलेको भन्दै प्रस्ट पार्न भनेका थिए ।
भेलामा उपाध्यक्ष मोहन वैद्य पक्षलाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको थियो । संस्थापन र वैद्य पक्षबीच सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान बनाउने सहमति भएको अर्को दिन प्रधानमन्त्री निवास बालुवाटारमा संस्थापन पक्षका पोलिटब्युरो सदस्यहरूले अनौपचारिक भेलामा वैद्य पक्षलाई यही सरकारमा सहभागी बनाउने विषयमा छलफल भएको हो ।भेलामा दाहालले भट्टर्राई नेतृत्वको सरकार परिवर्तन गर्ने हल्लामात्रै भएको र यसैलाई राष्ट्रिय स्वरूप दिन प्रयास थाल्नुपर्ने बताएको पोलिटब्युरो सदस्य एवं भूमिसुधारमन्त्री भीमप्रसाद गौतमले जनाए । ‘अध्यक्षले बाबुरामको विकल्प खोज्नुभन्दा यसैलाई राष्ट्रिय सरकार बनाउने प्रयास गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘किरण (वैद्य) जीहरूले जुन-जुन मन्त्रालय माग्नुहुन्छ, दिएर भए पनि यो सरकारमा सहभागी बनाउनुपर्छ भन्ने कुरा भयो ।’
वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले सरकार फेर्ने र सहभागी हुने आफूहरूको प्रमुख एजेन्डा नभएको बताए । ‘सरकारको एजेन्डा प्रमुख होइन,’ उनले भने, ‘अहिले राष्ट्रिय सरकारको टुंगो लागेको छैन ।’ उनले सरकारबारे के गर्ने भन्ने विषयमा प्रधानमन्त्री भट्टर्राईसँग कुरा भइरहेको बताए । ‘बाबुरामजीसँग पनि समग्र विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ‘हाम्रो मुख्य एजेन्डाचाहिँ कस्तो कार्यदिशा र कार्यक्रम बनाउने भन्ने नै हो ।’
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकार बदल्ने कुरा उचित नभएको र वैद्य पक्षलाई सरकारमा सहभागी गराउन सुझाव दिएको जनाए ।
‘वैद्य पक्षलाई पनि सरकारमा सहभागी गराउन धेरैले सुझाव दियौं,’ उनले भने, ‘नेतृत्व बदल्ने कुरा राम्रो हुँदैन भन्ने भयो ।’ राष्ट्रिय सरकारको स्वरूप नआई सरकार बदले शान्ति र संविधान धरापमा पर्ने पोलिटब्युरो सदस्यहरूको भनाइ थियो । ‘कार्यदिशामा विवाद भए पनि शान्ति र संविधान अघि बढाउने विषयमै सबैको जोड रह्यो,’ गौतमले भने ।
संस्थापनको भेलापछि दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सरकार फेर्ने कुरा नभएको बताए । ‘उहाँहरू (वैद्य पक्ष) ले सरकार परिर्वतनको प्रस्ताव पहिलेदेखि नै राख्नुभएको हो,’ बैठकपछि सापकोटाले भने, ‘अहिले सरकार फर्ने भन्ने कुरै आउँदैन ।’







