
काठमाडौँ – स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सिन्धुलीबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी मोबाइल बन्द गरेर भारततर्फ जान खोजिरहेका बेला पक्राउ परेका हुन्।
प्रहरीले पाण्डेमाथि सरकारी नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरी ठगी र आपराधिक विश्वासघात गरेको आरोप लगाएको छ। बैंकको लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेका पाण्डेलाई बैंकले पनि निलम्बन गरेको छ। स्मार्ट टेलिकमको लाइसेन्स २०८० मा रद्द भएपछि कम्पनीका सम्पूर्ण संरचना र उपकरण सरकारको नियन्त्रणमा गएका थिए। तर, बैंकले धितो असुलीको नाममा सम्पत्ति लिलामी गरेको थियो। यसबाट करिब ४ अर्ब ६० करोड रुपैयाँ उठाइएको छ।
यसअघि यही प्रकरणमा कम्पनीका पूर्वअध्यक्षसहित अन्य व्यक्तिहरू पनि पक्राउ परिसकेका छन्। अब बैंकका अन्य अधिकारी र नियामक निकायको भूमिकामाथि पनि अनुसन्धान विस्तार हुने प्रहरीले जनाएको छ।








