काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न दिएको समयसीमाअनुसार बोर्डले काम तीव्र बनाएको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ भने त्रुटि परीक्षण पनि लगभग पूरा भइसकेको छ। कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
बोर्डले एसएमएस र वेबसाइटमार्फत नतिजा हेर्न सकिने जानकारीसमेत दिएको छ। यस वर्ष एसइई परीक्षा गत चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ केन्द्रमा सञ्चालन भएको थियो। परीक्षामा ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए, जसमा जापानस्थित एक केन्द्रका २३ विद्यार्थी पनि समावेश छन्।
यसअघि नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरे पनि यस वर्ष शिक्षा मन्त्री सस्मित पोखरेल को निर्देशनपछि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज सोमबार एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ








