टोकियो – पश्चिमी जापानको ओसाका प्रान्तस्थित सेत्सु सहरमा आइतबार दिउँसो अचानक सडक भासिएर ठूलो खाडल बनेको छ । सडकको करिब ३ मिटर चौडा भाग धसिएको यस घटनामा मानवीय क्षति भने नभएको अधिकारीहरूले जनाएका छन् ।
सेत्सु सहरको सेन्रिओका-मिसिमा सडक खण्डको एउटा व्यस्त चोक नजिकै आइतबार दिउँसो ३ बजेतिर सडक भासिएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । सुरुमा सडकको केही भाग मात्र धसिएको देखिएको थियो र कामदारहरूले त्यसलाई पुर्ने प्रयास गरिरहेका थिए। तर, साँझ ६:३० बजेतिर उक्त खाडल फैलिएर करिब ३ मिटर गहिरो बनेको थियो ।
सहरका प्राविधिक अधिकारीहरूका अनुसार जमिनमुनि रहेको ढलको पाइप र म्यानहोल जोड्ने भागमा क्षति पुगेका कारण सडक भासिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो स्थान हान्क्यु रेलवेको ‘सेत्सु-शी’ स्टेशनबाट करिब २०० मिटर पूर्वमा पर्दछ । यो क्षेत्र सामान्यतया धेरै सवारी साधनको आवतजावत हुने व्यस्त सडक मानिन्छ ।
सडकको थप क्षति रोक्न र मर्मत कार्य सम्पन्न गर्नका लागि अधिकारीहरूले सो क्षेत्रको करिब ७०० मिटर सडक खण्ड आगामी बुधबारसम्मका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।








